बुटवलमा रात्रीकालीन बजार सञ्चालन हुने

 

बुटवल, ११ माघ । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधनसहित पारित गरेको हो ।


अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवल भित्रका पार्कहरुलाई नगरमातहत ल्याउन कानून बनाउने, टोलविकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा शहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने शहरका रुपमा स्थापित गर्ने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष चासो दिदै समयमै योजना सम्पन्न गर्नतर्फ ध्यान दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.