काठमाडौ । विज्ञहरुले बढ्दो फोहरमैला शहरी सुन्दरता र वातावरणीय सन्तुलनकै लागि चुनौति बन्दै गएको बताएका छन् । सिर्जनशील एकीकृत दिगो विकास समाजले आज काठमाडौंको वडा नम्वर १० नयाँ बानेश्वरमा आयोजना गरेको फोहरमैला व्यवस्थापन कार्यशालामा विज्ञहरुले काठमाडौंमा मात्रै दैनिक एक सय ९८ टन प्लाष्टिकको फोहर निस्कने बताए । स्थानीयको सक्रियतामा मात्रै फोहरमैला व्यवस्थापन गर्न सकिने उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. रविन्द्र ढकालले प्लाष्टिक मार्फत इन्धन निकालेर आयआर्जन गर्न सकिने बताउँदै फोहरमैला व्यवस्थामा सहकार्य गर्न तयार रहेको बताउनुभयो । काठमाडौंमा मात्रै प्रतिव्यक्ति ३७० ग्राम फोहर दैनिक निस्कने तथ्यांक डाक्टर ढकालले पेस गर्नुभयो ।
निजी क्षेत्रसँग सहकार्य गरी प्लाष्टिकबाट डिजेल बनाउने प्लान्ट बनाउन सकिने भन्दै उहाँले प्लाष्टिकलाई जथाभावी विसर्जन गर्दा वातावरणीय असर बढ्दै गएको उल्लेख गर्नुभयो । प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएर नभै यसभित्रै अवसर खोजेर फोहरमैला व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सकिने प्रवक्ता ढकालको भनाइ छ ।
फोहरमैला व्यवस्थापनमा स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै उहाँले नीति प्रविधि र नागरिकको सहयोग भए समस्या समाधान सजिलै हुनेमा जोडदिनुभयो । माटो विज्ञ राजु ढकालले भान्साबाट निस्कनेफोहरलाई मलमा रुपान्तरण गर्न सकिने र त्यसले कौशी खेति गर्दा दोहोरो फाईदा लिन सकिने बताउनुभयो ।वातावरणविद् रामहरि पन्तले फोहरमैला व्यवस्थापन वातावरणमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा जोडदिनुभयो । स्वअनुशासन र जनचेतनाबाटै फोहर व्यवस्थापन गर्न सकिने बताउँदै उहाँले काठमाडौको सुन्दरताका लागि फोहरमैलाको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
काठमाडौ महानगरपालिका वडा नम्वर १० का अध्यक्ष रामकुमार केसीले नीजि क्षेत्रसँग सहकार्य गरेर फोहरमैला व्यवस्थापन गर्न महानगरले काम गरिरहेको बताउँदै सहरी सफाईमा समुदायको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो ।
सिर्जनशील एकीकृत दिगो विकास समाज नेपालकी अध्यक्ष खिमा खनालले समुदायले फोहर उठाउन पैसा पनि तिर्ने तर फोहरको दुर्गन्ध पनि सहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले फोहर मैला व्यवस्थापनमा मिलेर काम गर्न आफूहरु तयार रहेको बताउँदै परिणाम देखिने कामका लागि स्थानीय सरकारहरु सहयोगी हुनुपर्ने उल्लेख गर्नुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्वर १० का वडासचिव सुवोध खड्काले महानगरले कौशी खेतीलाई प्रश्रय दिएको बताउनुभयो । सिर्जनशील एकीकृत विकास समाजकी सदस्य सिरजा पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
महिला विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँगको सहयोगमा सिर्जनशील एकीकृत दिगो विकास समाजले गरेको कार्यक्रममा सहभागीहरुले फोहरमैला व्यवस्थापनमा स्थानीय सरकारले प्रभावकारी काम गर्नुपर्ने भन्दै आफूहरु सघाउन तयार रहेको बताए ।
महिला विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँगको सहयोगमा भएको कार्यक्रममा विज्ञहरुले कार्यपत्रहरु पेस गरेका थिए । त्यस अवसरमा सिर्जनशील एकीकृत विकास समाजले वातावरणमैत्री र फोहरमैला छुट्टाएर राख्ने चेतनासहितको होडिङवोर्ड वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।