स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रक्रिया सुरु

 

 

लामो समय देखि हुन नसकेको स्ववियु निर्वाचन यहि चैत्र ५ गते हुदैछ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रक्रिया आज (शुक्रबार)देखि सुरु भएको छ ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ । चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनलागेको हो ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ।

उक्त नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । सोही दिनको साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख गरिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ। चैत ५ गते बिहान ८ बजेदेखि निर्वाचन हुनेछ।

विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन्। त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ। मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई-दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो। स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्ने प्रवधान रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.