समानताका लागि समान सोंच र व्यवहार जरुरी

 

बुटवल, २२ फागुन । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले संविधान प्रदत्त अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्ने बताएका हुन् ।


कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कमला पन्तले महिलाहरुको आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति तीन तहकै सरकारबाट प्रभावकारी काम हुनुपर्ने बताउनुभयो । उहाँले महिलालाई आर्थिक क्षेत्रमा अगाडि बढाउँदै सक्षम बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई मुलधारमा ल्याउँदै उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने बताउनुभयो । उहाँले समानताका लागि समान सोंच र व्यवहार जरुरी रहेको बताउँदै महिलालाई नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले समान अवसर र समान अस्तित्वका लागि महिलालाई उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्पल फाउण्डेशनकी निर्देशक तथा नेतृ सिर्जना काफ्लेले महिलाले अधिकार प्राप्तिका लागि आफै अगाडि बढ्नुपर्ने र नेपालको संविधानले व्यवस्था गरेको र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संविधानले दिएका अधिकार कार्यान्वयन र पेशागत सुरक्षाका हिसाबले बुटवल अग्रस्थानमा रहेको बताउनुभयो ।
‘डिजिटलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाउने बुटवल उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले नेपालमा महिला आन्दोलन र महिला अधिकारका विषयमा राज्यका तीन तहले अधिकारअनुसारका भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.