सत्ता संघर्षको होडबाजीले विकास र सुशासनमा असर

 

काठमाडौं । राजनीतिक नेतृत्व सत्ता संघर्षमा लाग्दा सरकारहरु टिकाउ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थायित्व नहुँदा विकास र सुशासनमा असर परेको बताए । पत्रकार भण्डारीको पुस्तक सत्ता संघर्ष काभ्रेको रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।

रोशी गाउँपालिका सिपाली, कोटथुम्काका बासिन्दा र हाल अमेरिका निवासी विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीले आफ्नो पालिका कार्यालय, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष तथा रोशी माविका प्रअका लागि पुस्तक सौजन्य गर्नुभएको हो । कार्यक्रममा पुस्तक हस्तान्तरण गर्दै सत्ता संघर्षका लेखक रामकृष्ण भण्डारीले राजनीतिक स्थायित्व भए मात्रै मुलुक विकास र सम्वृद्दिको बाटोमा अघि बढ्ने बताउनुभयो ।  राजनीति समाजसेवा भए पनि नेतृत्व तहमा सत्ताको हानथाप हुँदा जनस्तरसम्मै त्यसको नकारात्मक असर परेको बताउँदै उहाँले सत्ता संघर्षभन्दा विकास र सुशासनमा राजनीतिक दलहरु केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो ।

लेखक भण्डारीले नेपालको राजनीतिबारे जान्न सत्ता संघर्ष निकै उपयोगी हुने ठानेर मैनालीले जनप्रतिनिधिलाई पुस्तक पढ्ने वातावरण मिलाएको बताएको जानकारी पनि त्यस अवसरमा दिनुभयो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले राजनीतिले लय समाउन सके जनताले त्यसको प्रत्याभूति गर्न पाउने बताउनुभयो । स्थानीय तहमा आफूहरुले राजनीतिक खिचातानीभन्दा विकास र जनसेवालाई प्राथमिकता दिएको बताउँदै उहाँले पठन संस्कृति हराउँदै गएको बताउनुभयो । राजनीतिक परिवेश बुझ्न र विगतका बेथितिबाट सच्चिन सत्ता संघर्षले मार्ग निर्देश गर्ने उहाँको भनाई थियो ।

अध्यक्ष लामाले विश्वभर रक्तदान गरेका मैनाली काभ्रे र रोशीको विकासका लागि समेत सहयोगी भएको बताउनुभयो । त्यस अवसरमा काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईँले नेपालको राजनीतिबारे बुझ्नका लागि सत्ता संघर्ष सबैले पढ्नैपर्ने बताउनुभयो । नेपालको राजनीतिक परिवेश झन अस्थीर हुँदै गएको भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक स्थायित्वका लागि दबाब दिनुपर्नेमा पनि जोडदिनुभयो ।

त्यस अवसरमा मैनालीबारे लेखिएको अर्जुन मैनालीको रक्तदान नामको पाँचसय प्रति पुस्तक पनि गाउँपालिका अध्यक्ष लामा मार्फत रोशी माविलाई हस्तान्तरण गरिएको थियो । यसैगरी अर्जुनप्रसाद मैनालीले आफ्नो जन्मस्थल सिपाली, कुखुरेपाखामा रहेको ठाकुरस्थान आधारभूत विद्यालयका लागि २५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । उक्त रकम गाउँपालिका अध्यक्ष लामामार्फत वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य नारायणबहादुर शिवाकोटीलाई हस्तान्तरण गरिएको थियो।

मैनालीले आफू अमेरिकामा भए पनि गाउँको विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भनेर रकम पठाइदिनुभएको हो । ब्लड डोनर्स एशोसिएशन नेपालका संस्थापक सदस्य तथा ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष मैनाली विश्वमै सबैभन्दा धेरै रगत दान गर्ने व्यक्ति मध्ये हुनुहुन्छ । हाल अमेरिकामा रहेर पनि उहाँले विश्वभर रक्तदान अभियान चलाउँदै आउनुभएको छ । रक्तदान भ्रमणका क्रमममा ६ वटै महादेश पुग्नुभएका मैनाली लेखक समेत हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.