पत्रकार टिआर शर्मा र भगवति पाण्डेले गरे चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा

 

बुटवल, २८ फागुन ।

प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् ।
प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूणर् बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सह्रानीय काम गरेको भन्दै उहाले यसमा आफ्नो पनि योगदान रहने भन्दै उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो।


त्यस्तै संगठनकी जिल्ला उपाध्यक्ष भगवति पाण्डेले आफूले यसअघि ५ हजार रुपियाँ कोषमा सहयोग गरेकोमा आइतबार आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार पुर्‍याउने घोषणा गर्नुभयो । बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको साधारणसभा आगामी चैत १५ गतेभित्र गर्ने, त्यसअगाडि नै विभिन्न पालिकामा पालिका कमिटी बनाउने र एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रेस चौतारीका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निणर्य गरेको छ ।
बैठकले कल्याणकारी कोष सञ्चालन निर्देशिकालाई अनुमोदन गर्दै यसको सञ्चालनका लागि संगठन रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको पाँच सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । समितिको सदस्य सचिवमा संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल रहनुभएको छ भने सदस्यहरुमा संगठनका निवर्तमान अध्यक्ष अमृत गिरी, उपाध्यक्ष भगवति पाण्डे र कोषाध्यक्ष दिनेश श्रेष्ठ रहनुभएको छ ।
बैठकलाई संबोधन गर्दै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश विभागका इन्चार्ज मोहन चापागाईंले संगठनलाई चुस्त, दुरुस्त र बलियो बनाउने गरी अघि बढ्न र पत्रकारहरुलाई क्रियाशिल बनाउने गरी योजनाका साथ लाग्न आग्रह गर्नुभयो । बैठकमा प्रेस चौतारी नेपाल रुपन्देहीका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी, दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्य टिआर शर्मा, सल्लाहकार ईन्दिरा अर्याल, संगठनका रुपन्देही सचिव केशव भण्डारीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.