विपद् ब्यवस्थापनमा दोदा जलाधार क्षेत्रको सहमतिपत्र सुदूरपश्चिमका मूख्यमन्त्रीलाई हस्तान्तरण

 

 काठमाडौं, २६ जेठ ।
सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशिलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो । कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिकाबीच यस्तो समझदारी बनेको हो ।
१० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शुक्रबार धनगढीमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गर्दै दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धीत काम गर्ने प्रतिबद्धता जनाएका छन् । दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायू परिवर्तन सम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुर, मर्सी कोर र डीपी नेट नेपालले समेत स्थानीय तहहरुसँग सहकार्य गर्ने भएका छन् । स्थानीय तहहरुबीच भएको समझदारी पत्रमा दोदा जलाधार क्षेत्रमा मुख्य सरोकारवालाको पहिचान गरेर प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्यांकको नक्सांकन, जलवायु र विपद उत्थानशीलतामा रणनीतिक काम गर्ने उल्लेख गरिएको छ ।
प्रभावित क्षेत्रका समुदायका लागि विभिन्न तालिम सञ्चालन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रविधिमैत्री बहुप्रकोप पूर्व सूचना प्रणाली स्थापना गरिने समेत बताइएको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात विपद् पुर्वतयारी, जोखिम न्यूनीकरणको कामलाई विशेष प्राथमिकता दिएर योजना निर्माण तथा वजेट विनियोजन गर्नको लागि सुदूर पश्चिम प्रदेशका माननीय अर्थ मन्त्री नरेश शाही संग छलफल समेत भएको थियो ।
यसै गरी प्रदेशका मुख्यमन्त्रीको समुपस्थितीमा माननीय आन्तरिक मामिला मन्त्री र माननीय आर्थीक मामिला मन्त्री संग संयुक्त रूपमा माननीय मुख्य मन्त्रीज्यूको कार्यकक्षमा सुदुर पश्चिमको विपदको अवस्था, समग्र नेपालको विपदको अवस्था सहित विपद् पुर्व तयारी, जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिकाको वारेमा छलफल गर्दै यसको लागि विशेष कार्यक्रमसहित वजेट विनियोजन गर्नको लागि माननीय पुर्वशिक्षा मन्त्री डा. गंगालाल तुलाधरले अनुरोध गर्नु भयो ।
सो अवसरमा दोदा जलाधार क्षेत्रका नगर प्रमुखहरूद्धारा तयार गरि हस्ताक्षर गरिएको समझदारी पत्र र विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको मार्गदर्शन समेत माननीय मुख्य मन्त्रीज्यूलाई माननीय डा. तुलाधरले हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा प्रदेश स्तरिय विपद जोखिम न्यूनीकरण कार्यमञ्च गठन गर्ने विषयमा समेत छलफल भएको थियो । माननीय मुख्यमन्त्री र दुबै माननीय मन्त्रीज्यूहरूले समेत कार्यमञ्चको वारेमा निकै चासो राख्दै आगामी दिनमा डिपीनेट, मर्सीकोर लगाएतका संस्थाहरूसंग सहकार्य समन्वय गरेर विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको प्रकोप पुर्वतयारी संजाल नेपाल डिपीनेटका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.