पठन संस्कृतिबारे बुटवलमा अन्तरक्रिया

 

बुटवल । सीटीएफ नेपालको आयोजनामा बुधबार बुटवलमा पठन संस्कृति विकास सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले पठन संस्कृति हराउँदै जानु चिन्ताको विषय भएको बताउँदै यसको विकासका लागि आफैबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय पठन संस्कृति ह्रास भएको र पठन सीपसमेत कमजोर भइरहेका बेला पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले देशका बिभिन्न सहरहरुमा कार्यक्रम सञ्चालन भईरहेको सीटीएफ नेपालका लुम्बिनी प्रदेश प्रमुख अशोक सुवेदीले बताए । कार्यक्रममा पठन संस्कृति विकास कार्यक्रम रिडिङ एण्ड डेभलपमेन्ट फोरमका निर्देशक बद्रीप्रसाद दाहालले पठन संस्कृति निर्माणका लागि प्रस्तावित सोच पत्र प्रस्तुत गरेका थिए । विद्यार्थीले पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्नुलाई समयको बर्बादी ठान्ने सोच अझै पनि कैयौँ शिक्षक तथा अभिभावकमा देखिनु चिन्ताको विषय भएको उनले बताए । निर्देशक दाहालले पठन संस्कृतिबारे यसअघि इटहरि, काठमाडौं, पोखरा, नेपालगन्जमा कार्यक्रम सम्पन्न भइसकेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत यादवचन्द्र विष्टले पठन संस्कृतिको विकास गर्न परिवारको पहिलो जिम्मेवारी रहने बताए ।

यस्तैगरी अक्स्फोर्ड माविका प्राचार्य दिनेश भुसाल, लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक गोपाल पाण्डे, पुस्तक व्यवसायी दिवाकर घिमिरे, नमस्ते एकेडेमीका लिलामणी पाण्डे लगायतले बोल्दै पठन संस्कृति विकास गर्न समय सापेक्ष रुपमा उमेर समूह अनुसारको पुस्तक प्रकाशन गर्नुपर्ने, प्रविधिमा आधारित ई–पुस्तक प्रकाशित गर्नुपर्ने सुझाव दिएका थिए । साथै विद्यालय, क्याम्पस तथा सामाजिक संघ संस्थाहरुले अभियान सञ्चालन गरेर यसतर्फ आकर्षित गर्नुपर्ने बताए । कार्यक्रममा रुपन्देहीका लेखक, पत्रकार, शिक्षक, प्राध्यापक र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.