बुटवल, पुस २५ । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले उट्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सहकारीहरुले लगानिको धेरै सम्भावना बोकेको कृषि क्षेत्रमा लगानी गरी यसबाट आर्थिक लाभ लिन सक्ने बताए । पछिल्लो समय केहि सहकारी संस्थाले बदमासी गर्दा सहकारीप्रति विश्वास घट्दै गइरहेको अवस्थामा सहकारीको छवी सुधार गरी नागरीकको मन जित्न आबश्यक रहेको बताए ।
बजारको अध्ययन गरी लगानी र बस्तु उत्पादन गर्न सके उत्पादीत बस्तुले उचित मूल्य पाउने उनले बताए । पूरानो प्रविधिलाई छाडेर नयाँ प्रविधि र उपकरणको प्रयोग गरी उत्पादन गर्न सके कम लागतमा बढी नाफा आर्जन गर्न सकिने उनको भनाई थियो । देशबाट यूवा जनशक्ती दैनिक विदेश पलायन भइरहेको अवस्थामा सहकारी संस्थाले यूवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नेखालका यूवालक्षित कार्यक्रम ल्याउन सुझब दिए ।
सदस्यहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सीपमूलक तथा आयमूलक तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकारले दुई वर्षमा दुई लाख जनालाई रोजगारी प्रदान गर्ने गरी अभियान सञ्चालन गरिरहेको बताउँदै यसलाई सफल पार्न सहकारीकर्मीहरु यसमा जोडिन आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष डा.खगराज शर्माले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । वित्तीय बजारमा आएको समस्या सहकारीहरुमा पनि परेको र जसको कारणले सोचेजति संघले प्रगती गर्न नसकेको स्पष्ट पारे । बिभिन्न सहकारी संस्थाहरुले सुरु गरेका परियोजना अलपत्र भइरहेको अवस्थामा यस सहकारीले सुरु गरेको दुग्घ प्रशोधन परियोजनालाई सफल बनाएर नमुना सहकारी बनाउने प्रतिवद्धता जनाए । संघलाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने उनको भनाई थियो ।
चौथो वार्षिक साधारण सभासम्म आईपुग्दा हालसम्मको गतिविधिले आगामी दिनमा गति लिनसकिन्छ भन्ने आशा जागृत भएको अध्यक्ष शर्माले बताए । विभिन्न चुनौतीहरुका बीच पनि संघले उल्लेख्य प्रगती गर्न सफल भएको उनले बताए । साधारण सभामा राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी निर्देशक सन्दिप सापकोटा, राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे, संघको सदस्य संस्था पञ्चामृत दुग्ध सहकारीका व्यवस्थापक शोभाखर भण्डारी, हाम्रो जागृती सगरमाथा सहकारीका अध्यक्ष लोकनाथ पाण्डे, साना किसान कृषि सहकारी गुल्मीका अध्यक्ष हरिप्रसाद छन्तेल, पशु विज्ञ सल्लाहकार तुलसीराम भण्डारी, दुग्ध सहकारी संघका सञ्चालक हरि काफ्ले लगायतले बोल्दै सहकारी अभियानले पुँजी संकलन मात्र नगरी उत्पादनसँग जोडिएर सहकारीका सदस्यको समृद्धीका लागि काम गर्नुपर्ने बताए ।
लाखौँ किसानसँग जोडिएको दुधको बजारीकरणमा यस सहकारीले महत्वपूर्ण भूमीका खेल्ने बताए । साधारण सभामा कोषाध्यक्ष खेमप्रसाद गौतमले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक जयकिशन अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल संघमा कुषि तथा साना किसान कृषि सहकारी ३६, दुग्ध उत्पादक सहकारी १७, बहुउद्देश्यीय सहकारी २८, बचत तथा ऋण सहकारी ५१ गरी जम्मा १३६ शेयर सदस्य संस्था रहेका छन् । भने शेयर रकम ८ करोड २४ लाख ४६ हजार ७ सय रुपैयाँ रहेको छ । साधारण सभा सञ्चालक सदस्य झुपा पाण्ेडेको स्वागत तथा सचिव गोपाल पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।