बुटवलमा माघ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

 

बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ ।उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ ।


यस वर्ष सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा टीम विभिन्न विधाका खेलाडी सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । उहाका अनुसार गतवर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ । सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको संयोजक पियाले जानकारी दिनुभयो।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विधाका ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियालेबताउनुभयो । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको छ ।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको छ ।
यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उत्कृष्ट रुपमा प्रतियोगिता सञ्चालनका लागि निर्देशन दिनुभयो । उहाले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले सञ्चालन गर्दै राष्ट्रिय प्रतियोगितासरह बनाउन आग्रह गर्नुभयो । बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाले खेलमैदान निर्माणलाई पनि विशेष जोड दिएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्‍यालीको मूल्याङ्कनको आधारमा प्रथम,द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता माघ ४ गते बिहीबार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु हुने छ ।
गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.