काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालभन्दा अगाडि नै चुनावमा पनि जानुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ।
अहिलेको गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनु भएको छ।
पार्टीनिकट खेलकुद महासंघको पूर्ण बैठकलाई बिहिबार सम्बोधन गर्दै उहांले पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रनुपर्ने गरी मानसिकरूपमा तम्तयार रहन समेत निर्देशन दिनुभयो ।
तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने भन्दै ओलीले भन्नुभयो – ‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त । नेपाल छ र पो हामी छौं त, नेपाल जोगाउन हामी परी आउँदा हरेक मूल्यमा हामी अगाडि बढ्दैनौं र!,’
पार्टी मुख्यालय च्यासलमा बसेको पूर्ण बैकठमा अध्यक्ष ओलीले अगाडि निर्देशन दिँदै भन्नुभयो, ‘त्यसकारण हामीले आफूलाई आन्दोलनका निम्ति तयार राख्नुपर्छ। पार्टीले जतिबेला सिट्ठी बजाउँछ, खेलाडीहरू छरिएका हुनसक्छन्, सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्छन्, हामी त्यस्तै हो। पार्टीले सिट्ठी बजायो भने आन्दोलनको मैदानमा दौडने गरी, हामीलाई धेरै दिनको तयारी नहुनसक्छ, छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ।’
गठबन्धन सरकारले जस्तोसुकै हमला र जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको बताउँदै उहाँले त्यसका लागि पनि तयार रहन निर्देशन दिनुभयो ।
ओलीले अहिले एमाले निर्णायक लडाइँ लडिरहेका र सत्ता पक्ष आतंकित बनेको दाबी गर्नुभयो।