आप्नो पेशा बचाइ दिन स्थानिय तहहरुलाइ आग्रह

 

सिलाई व्यवसायी संघ बुटवलले उपमहानगरमा बुझायो १२ बुदे ज्ञापनपत्र
बुटवल, ७ चैत । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई सिलाई व्यवसायीका विभिन्न महत्वपूणर् मागहरुसहित १२ बुदे ज्ञापन पत्र बुझाएको छ । संघमा आवद्ध बुटवल नगर समिति र रुपन्देही जिल्लाका पदाधिकारी तथा कार्यसमितिलगायतको व्यवसायीहरुको सिङ्गो टिमले बुटवल उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका हुन् । बुटवलमा रहेका केही स्कुल तथा कलेजले गोप्य सम्झौता गरी पोशाक तथा ड्रेस एकतन्त्रीय प्रणालीबाट सिलाई बजारका सिलाईकटाई व्यसायीहरु धरासायी भएको भन्दै उनिहरुले आप्नो पेशा बचाई दिन स्थानिय तह हरुलाइ आग्रह गरेका छन । अभिभावक र विद्यार्थीले आफुखुसी आफुले रोजेको ठाउँमा सिलाउन नपाउदा कपडा र सिलाइ दुवैको गुणस्तरमा समेत ठगिएको गुनासो समेत आफुहरुलाई आएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष तुल्सीबहादुर भण्डारीले बताउनुभयो ।
नगरपालिकामा सादर अनुरोध तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग जायज भएको बताउँदै निजी तथा सरकारी विद्यालयका प्राचार्य, प्याब्सन, एन प्याब्सन र व्यवसायीहरुलाई संगै राखेर व्यापार व्यवसाय गर्ने वातावरण बनाउने बताउनुभयो । उहाले बुटवलमा सबै व्यवसायीहरुलाई समान रुपले व्यवहार गरिने भन्दै व्यापार व्यवसाय गर्ने वातावरण सबै मिलेर बनाउनुपर्ने बताउनु भयो ।


अन्तरक्रिया कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम कुमार रणपालले विद्यालय तथा क्याम्पसका पोशाक सिलाउन गोप्य सम्झौता अर्थात् टेण्डरको अन्त्य हुनुपर्ने व्यवसायीको पहिलो सर्त रहेको बताउनुभयो । उपाभ्यक्ष रणपालले विद्यालयहरुले हरेक वर्ष पोशाकको रंग परिवर्तन गर्दा त्यसको नमुना सबैले देख्ने गरी सूचना पार्टीमा राख्न आग्रह गर्नुभयों ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका विशिष्ट केन्द्रीय मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै सिलाई व्यवसायमा पछिल्लो समय सिन्डीकेट भएकोले ताल्चा लगाएर बन्द गरी अन्य व्यवसाय खोल्नु पर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाले केही निश्चित कलेज तथा विद्यालयले गोप्य तरिकाले टेण्डर आव्हान गरी पोशाक सिलाउन अन्यत्र जान नपाउने गरी सिंगो व्यवसायीलाई लात हान्ने काम भएको बताउँदै यो टेण्डरको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार सरोज गौतमले बोल्दै सिन्डीकेटको अन्त्यका लागि निजी तथा सरकारी स्कुलले सहयोग गर्नुपर्ने र विद्यार्थीहरुले आफुले चाहेको पसलमा पोशाक सिलाउन पाउनु पर्ने बताउनुभयो । उहाले सिलाई व्यवसायीहरु वर्तमान अवस्थामा यो पेशामा टिक्न कठिनाई परेको भन्दै व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गरी बाच्न पाउने वातावरण सिर्जना गर्न पालिकाको विशेष ध्यान पुग्नुपर्ने बताउनुभयो ।
संघका रुपन्देही महासचिव सन्दीप बुढापृथीले बोल्दै कोरोनाले थला परेका व्यवसायीहरु आर्थिक रुपमा माथि उठ्न नसकेको बेला सिन्डीकेट प्रथाले सिलाई व्यवसायीहरु झन् मारमा परेको बताउनुभयो । नगर अध्यक्ष राजेन्द्र यादव,ले समग्र व्यवसायीको आवाज सिन्डीकेटको अन्त्य हुनपर्ने बताउँदै स्थानीय सरकारका रुपमा रहेको उपमहानगरपालिकाले सही र यथार्थ बुझेर व्यवसायीलाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्याब्सन बुटवल नगरका अध्यक्ष तथा अन्नपूणर् मा.वि. बुटवलका प्रबन्ध निर्देशक मित्रहरि आचार्यले बोल्दै प्याब्सन तथा एन प्याब्सनले सिन्डीकेट गरेको भन्ने आरोप लगाएको भन्दै हरेक कुरामा व्यवसायी सच्चिएर आउन आग्रह गर्नुभयों । उहाले व्यवसायीहरुको उत्थान र विकासका लागि प्याब्सन र एनप्याब्सनले सिन्डीकेटको अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।
व्यवसायीले विद्यालय तथा क्याम्पसका पोशाक(डे्रस) सिलाउनको लागि गोप्य सम्झौता अर्थात टेण्डरको अन्त्य हुनुपर्ने, गोप्य सम्झौताको आधारमा पोशाक तयार गर्दा कपडा तथा सिलाईको गुणस्तरमा कमी आएको कारणले उपभोक्ता ठगिनबाट जोगाउन टेण्डरको अन्त्य हुनुपर्ने, विद्यालय तथा कलेजले प्रत्येक वर्ष पोशाकको रङ्ग परिवर्तन गरिरहने हुँदा पोशाक तथा ड्रेसको नमुना सबैले देख्नेगरी सूचना पार्टीमा राख्नुपर्ने, शैक्षिक संस्थाहरुले व्यवसायीहरुसंग कमिसनको खेल बन्द गर्नुपर्ने साथै आवश्यकता अनुसार सरकारीनिकायबाट अनुगमनको व्यवस्था हुनुपर्ने, सम्पूणर् सिलाई व्यवसायीहरु नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा अनिवार्य आवद्ध भई नगरपालिकाको कार्यालयमा समेत दर्ता हुनुपर्ने, सिलाई व्यवसायीहरुलाई सरकारी तालिमहरुमा समाबेश गराइनुपर्नेलगायतका १२ बुदे माग राखेको बिज्ञप्तीमा नगर अध्यक्ष राजेन्द्र यादव, नगर सचिव अनिल छिनाल र जिल्लाका कार्यबाहक अध्यक्ष तुलसीबहादुर भण्डारीको हस्ताक्षर रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.