बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, 

 

एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए

बुटवल-बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगर स्थित गौशालामा लगिएको हो ।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताउनुभयो ।
उहाले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताउनु भयो ।


उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताउनुभयो । उहाले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गर्नुभयो ।
’बुटवलमा अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, । अहिले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्ने त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिने नगरपालिकाले जनाएको छ ।’
सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न नगरपालिकाले आग्रह गरेको छ । सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरीएको हो । ’यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं । यसले बुटवललाई थप व्यवस्थित बनाउने छ ।’
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताउनुभयो ।
छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.