विद्युतीय व्यवसायी संघले तिलोत्तमामा बनायो किरियापुत्री भवन

 

बुटवल, चैत ९  । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिका-७ स्थित दल्का भलबारीमा करिब ६० लाखको लागतमा सचिवालय तथा किरियापुत्री भवन निर्माण गरेको छ । नवनिर्मित भवनको शुक्रबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे ।


सोही अवसरमा बोल्दै उनले मानवीय समवेदना हराउँदै गइरहेको अवस्थामा विद्युतीय व्यवसायीहरुले धेरै समस्याहरु झेल्दै अथक मेहनत र प्रयासका साथ व्यवसायी आफैँले रकम जुटाएर बहुउद्देश्यीय भवन निर्माण गरी समाजमा उदाहरणीय काम गरेको बताए । संघले विद्युतीय व्यवसायीहरुको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामूलक कार्य प्रशंसनीय रहेको उनले बताए । व्यवसायीहरुलाई परेका समस्याहरु समाधानका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । तिलोत्तमालाई स्वच्छ, सफा र हरियाली नगर बनाएर मानवताको सहरका रुपमा विकास गर्न योजना बनाएर काम भइरहेको नगरप्रमुख खाँणले बताए ।


कार्यक्रममा बोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रेशमप्रसाद देवकाटाले नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृत प्राप्त उत्पादनको मात्रै विक्री वितरण गर्ने योजना रहेको बताए । आर्थिक मन्दीको असर विद्युत् व्यवसायमा समेत परेको भन्दै उनले व्यवसाय प्रवद्र्धनका लागि सबै व्यवसायी एकताबद्ध हुन आवश्यक रहेको बताए ।
रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष लोकनाथ पोखरेलले विद्युतीय व्यवसायीहरुको सामुहिक प्रयासले गर्दा भवन निर्माण गर्न सफल भएको बताए । भवनलाई पूणर्ता दिन अझै केही कामहरु बाँकी रहेको बताउँदै उनले स्थानीय सरकारको रुपमा नगरपालिका, प्रदेश र संघीय सरकारलाई सहयोग गरीदिन आग्रह गरे । विद्युतीय व्यवसायीको हकहित र अधिकार सुनुश्चित गर्दै व्यवसायिक सफलता हासिल गर्न लागिपरेको समेत अध्यक्ष पोखरेलले बताए ।

सुन्दर, शान्त रमणीय स्थानमा करिब ६० लाख रुपैयाँको लागतमा १ तले सुविधासम्पन पक्की भवन निर्माण गरीएको पूर्व अध्यक्ष तथा भवन निर्माण संयोजक प्रकाशचन्द्र पाण्डेयले बताए । जसमा सुविधासम्पन्न ५ कोठा रहेका छन् । संघले ३ कोठा किरियापुत्रीका लागि र अन्य २ वटा कोठा कार्यालय प्रयोजनका लागि प्रयोग हुने जनाएको छ । तिलोत्तमा नगरपालिकाका तत्कालीन नगर प्रमुख वासुदेव घिमिरेले संघलाई नगरपालिकाको जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा २०७६ असारमा भवन शिलान्यास भएको थियो ।
कार्यक्रममा तिलोत्तमा-७ की वडा सदस्य कल्पना रोका, नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष राम श्रेष्ठ, तेजनारायण खरेल, चितवन जिल्ला अध्यक्ष नवराज सुवेदी, रुपन्देहीका संस्थापक अध्यक्ष अनन्तमान थैव, निवर्तमान अध्यक्ष हरिहर ज्ञवाली, पूर्वअध्यक्ष सन्दिप कशौधन, नारायणबाबु बस्नेत, सल्लाहकार बुद्धिमान थापा, लक्ष्मण पौडेल, माधव ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भवन निर्माण गर्दा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रुपन्देही विद्युत् व्यवसायी संघको १२ औं वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन शनिबार हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको संघले जनाएको छ । रुपन्देहीका पूव अध्यक्ष प्रकाशचन्द्र पाण्डेयको स्वागत तथा महासचिव सूर्य कुवँरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.