रुपन्देहीमा हतौडाले हानेर ७० वर्षीया वृद्धाको हत्या, एक पक्राउ

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका-६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी उजेली लोधको हत्या भएको हो । हत्या अभियोगमा सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षीय प्रभुनाथ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार १३ गते राती साढे १२ बजेको समयमा उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी घाइते भएकी थिइन्।
घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपियाबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर तल्काल घाइतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु पहरीले जनाएको छ । घटनामा संलग्न ब्यक्तिको पहिचान एवम् खोजतलास गर्ने क्रममा प्रहरीले थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानाकारी दिनुभयो । पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको प्रहरी प्रवक्ता भट्टले जानाकारी दिनुभयो ।
पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा वृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.