अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो ।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरे पछि राष्ट्रपतिले नियुक्तिको निणर्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.