प्रधानमन्त्री केपी शर्मा ओली द्धारा कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गर्नुभएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराउनुभएको हो । उहाँले सदनलाई जानकारी गराउनुभएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन् ।
१) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने छ ।
२) राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने छ ।
३) अर्थतन्त्रमा देखिएको विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गरिने छ ।
४) राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथा त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने ।
५)  राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गरिने  छ ।
६) राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने तथा अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गरिने छ ।
७) राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन तथा सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिइने छ ।

प्रधानमन्त्री ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको पनि बताउनुभयो ।प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताउनुभएको होे ।
जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेकाप्रधानमन्त्री ओलीले बताउनुभयो । हरेक तरविकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.