उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।
साउन १६
गएराति देखि देशभर अविरल बर्षा भैरहेको छ । काठमाडौ सहित देशका बिभिन्न नदि खोला छेउ वरीपरि बाढी आएको छ । धेरै स्थान दुवान समेत परेका छन । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार र ठूलो पानी परेकोले धेरै ठाउँमा बाढी आएको छ ।
चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाण्डौको बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ । बागमति, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी जमेको छ ।
नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, बोल्दे, मानेखर्क, बाँसखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरुमा पनि ठूलो पानी परिरहेकाले ती क्षेत्र भइ बहने नदीहरुका तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच लगातार पानी परेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा बिहान झण्डै एकघण्टा गाडी चलाउन रोक लगाइएको छ । पहिरोको जोखिम भएकाले बिहान साढे ४ बजेदेखि गाडी चलाउन रोक लगाइएको र उज्यालो भएपछि खुलाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
पानी परेको बेला राजमार्गमा पहिरोको जोखिम हुने भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।