जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देश

 

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गर्नुभयो ।
“जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगबिहीन हुन्छ भने रोजगारी पनि नपाउने सम्भावना हुन्छ, त्यसैले सीपमुलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो, “उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गनुैहोस् ।” वर्तमान सन्दर्भमा मुलुकमा समाज बनाउने खालको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले विद्यालय तहमा भर्नादर बढाउने, ‘ड्रपआउट’ घटाउने र शिक्षाको गुणस्तर बढाउने गरी काम गर्न आवश्यक भएको उल्लेख गर्दै आगामी वर्षको एसइईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सक्षम शिक्षक र निशुल्क इन्टरनेटको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चासो दिनुभयो । “एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी गर्ने लक्ष्य निर्धारण गरी काम गर्नुहोस्, यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको तयारी गर्नुहोस्”, उहाँले भन्नुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरुरी भएका ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीहरुसँगको गृहकार्यका आधारमा आफूले सहमति दिएको उल्लेख गर्नुभयो । विश्वविद्यालयको कुलपतिका हैसियतमा आफूलाई नीति तथा कार्यक्रम अघिल्लो दिन मात्रै उपलब्ध गराइएकाले अध्ययन गर्न नभ्याइएको र नीति तथा कार्यक्रमसम्बन्धी सिनेटको अर्को बैठक पदाधिकारीहरुकै सहमतिमा चाँडै बस्ने समेत तय भएकोमा कुलपतिले हस्तक्षेप भएको भन्ने प्रचार गरिएकोमा टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी ठोस कार्यक्रम बनाउन पनि निर्देशन दिनुभयो । “नागरिकको स्वास्थ्यको सुरक्षा, शुद्धता परीक्षण र प्रमाणिकरण गर्ने, निरोगी नेपालको अवधारणालाई सहयोग गर्ने, गरिबी घटाउने, कृषि र उद्योगका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग बढाउने गरी काम गर्ने गरी ठोस कार्यक्रम बनाएर अघि बढ्नुहोस”, उहाँले भन्नुभयो ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला र सचिवद्वय डा दीपक काफ्ले र विश्वबाबु पुडासैनीलगायत सहभागी हुनुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.