दीपमा चित्रकला प्रतियोगिता

 

बुटवल, असोज ६ । दीप बोर्डिङ हाई स्कुल बुटवलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङले आइतबार अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजनामा गरेको हो ।
प्रतियोगी विद्यार्थीहरुले तीन घण्टाको समयावधिमा कार्यक्रमस्थलमा नै विभिन्न विषयमा चित्र बनाएका थिए । उक्त प्रतियोगितामा पामिर एकेडेमीका राजन थापा प्रथम भए । त्यस्तै क्यानन सेकेण्डरी स्कुलका आर्यन परियार द्वितीय, फर्साटिकर सेकेण्डरी स्कुलका अमन थारु तृतीय र एभरेष्ट बोर्डिङ स्कुलकी सिर्खा जोसीले सान्त्वना स्थान प्राप्त गरिन् । उनीहरुले क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे । उक्त प्रतियोगितामा २४ विद्यालयका ४३ जना विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक शिक्षक रोहित शाहले जानकारी दिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका खेलकुद समिति संयोजक तथा रोटरी क्लब अफ बुटवलका पूर्वअध्यक्ष बोनिन पियाले इन्ट्रयाक्ट क्लबले कला क्षेत्रलाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गर्नु निकै प्रशंसनीय कार्य भएको बताए । विद्यार्थीले किताबी ज्ञानसँगै संस्कार र बाहिरी ज्ञान पनि हासिल गर्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभालाई उजार गर्न सहयोग पु¥याउने उनले बताए । खेलकुदले विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त बनाउने भएकाले विद्यार्थी जीवनमा खेलकुदको महत्व रहेको पियाले बताए । कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै सहायक प्राचार्य कलाधर अर्यालले इन्ट्रयाक्ट क्लबले विभिन्न क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असल कार्य गर्ने सकिनेमा जोड दिए । सहायक प्राचार्य सुरेन्द्रकुमार शाक्यले यस्ता कार्यक्रमले कलाको विकास र संवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । विद्यालयले विद्यार्थीको क्षमता, सीप र ज्ञानलाई उजागर गर्न जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उनले बताए ।
कार्यक्रम इन्ट्रयाक्ट क्लबकी अध्यक्ष सुहाना बञ्जाडेको अध्यक्षता तथा उपाध्यक्ष दिपा केशरी र सचिव कुशल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.