बुटवल उपमहानगरको गेटमा मासु व्यवसायीको धर्ना दसैको मुखमा आफुहरुमाथि अत्याचार गरेको आरोप

 

आन्दोलनमा काग्रेस बाहेक ६ दलको समर्थन
२० असोज, बुटवल । बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानगरले अनुगमन आतंक मच्चाएको आरोप लगाउंदै भद्र अवज्ञा आन्दोलन घोषणा गरेका छन् । दशैको मुखमा ब्यवसायि र किसानमाथि गरिएको अत्याचारको विरुद्धमा आन्दोलन गर्नु परेको उनिहरुको भनाइ छ । बाख्रापालक किसान र मासु व्यवसायीको सहभागितामा सार्वजनिक-निजी-उत्पादक साझेदारी (फोर पी) अवधारणामा बधशाला चलाउने पुर्व सहमति तोडेर बुटवल उपमहानगरले टेण्डरमार्फत निजी कम्पनीलाई दिएपछि व्यवसायी दश दिनदेखि पसल बन्द गरेर आन्दोलनमा थिए ।
व्यवसायीले आइतबार उपमहानगर कार्यालय गेट अगाडि धर्ना र वृहत सभा गरेर बन्द रहेका पसल सुचारु गरी उपमहानगरको जरिवाना र अन्य कारवाही अवज्ञा गर्ने घोषणा गरेका हुन् । व्यवसायीको आन्दोलनलाई नेकपा एमाले सहित ६ राजनीतिक दलले धर्नामा उपस्थित भएर ऐक्यवद्धता जनाएका छन् । एमाले, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुले पनि व्यवसायीका सबै माग जायज र न्यायोचित भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका छन ।

पुर्व सहमति तोडेर आफूहरुलाई धोका दिइएको ठहर सहित व्यवसायीहरु खसी बोका बध गर्न नगएपछि बधशाला सञ्चालनमा समस्या भएको छ । ठेक्का पाएको मुक्तिनाथ लाइभस्टक प्रालिले बुटवलमा आफैले तीनवटा मासु पसल सञ्चालन गर्दा समेत उपभोक्ता खरिद गर्न नगएपछि ती पसल बन्द भएका छन् ।
त्यसपछि उपमहानगरले बधशालाको चार किल्ला बाहिर बध गरेको मासु बेच्न नपाइने कानून बनेको भन्दै दिनहुं मासु पसल अनुगमन गरी पहिलोपटक १० हजार, दोस्रोपटक २५ हजार र तेस्रोपटक ५० हजार जरिवाना र त्यसपछि पसल बन्द गर्ने गरी अनुगमनमा कडाई गरेपछि व्यवसायीले पसल बन्द गरेका थिए ।
व्यवसायी र किसानले उक्त ऐन अवैज्ञानिक, अपूणर्, विभेदकारी र स्वतन्त्र ढंगले व्यवसाय गर्न पाउने संवैधानिक अधिकार हनन् गर्ने खालको भएकाले बधशालामा नजाने घोषणा गर्दै उक्त कानून संशोधनको माग राखेका छन् ।
कानून बनाउंदा मुख्य सरोकारवाला मासु ब्यवसायीसंग पर्याप्त छलफल नगरी खुला प्रतिस्पर्धालाई बन्देज लगाई एउटा निजी कम्पनीलाई अनूकूल हुने गरी बनेको कानून स्वीकार्य नहुने व्यवसायीको भनाई छ ।
ऐन संशोधन नहुंदासम्म व्यवसायीले गुणस्तरयुक्त मासुको व्यवसाय निर्वाध सञ्चालन गर्न पाउनुपर्ने मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बताए ।
चाडपर्वको मुखमा व्यवसाय गर्न नपाउने गरी सशष्त्र प्रहरीसहित तीनथरी सुरक्षा निकाय उपस्थित गराएर व्यवसायीमाथि आतंक सिर्जना गरिएकाले यसलाई अस्वीकार गर्ने बताए ।
‘सरोकार पक्षसंग छलफलविना बनाइएको कानूनको हवाला दिएर अनुगमन आतंक मच्चइएको छ, अब अनुगमन र जरिवनाको भद्र अवज्ञा गरी पसल खोल्छौंं’- थापाले भने -‘गुणस्तरमा सम्झौता गर्दैनौं तर एउटा निजी कम्पनीको ब्यापार गरिदिन हामी वाध्य छैनौं ।’ उपमहानगरलाई मासुको गुणस्तर भन्दा निजी कम्पनीको स्वार्थको चिन्ता भएको थापाको आरोप छ ।
ब्यवासयीको धर्नामा बोल्दै नेकपा एमालेका रुपन्देही सचिवालय सदस्य राजेन्द्र ढकालले ‘फोर पी’ मोडलमा चलाउने गरी एमाले सरकारको पालामा बधशाला बनेको बताउदै सच्याएर अगाडि नबढे तेसको मुल्य महङ्गो हुने च्यातावनि दिए । नेपाली कांग्रेसका खेलराज पाण्डेय बुटवलको मेयरमा निर्वाचित भएर आएपछि किसान र मासु व्यवसायीसंग भएको सहमति तोडेर निजी कम्पनीलाई दिएपछि समस्या उत्पन्न भएको ढकालले बताए । उनले व्यवसायीका माग जायज भएकाले आन्दोलनमा एमाले संगै रहने बताए । ‘व्यवसायी र किसानसंगको सम्झौता लत्याएर टेण्डरको नाममा निजी कम्पनीलाई जिम्मा दिएको कुरा एमालेलाई स्वीकार्य नभएको उनले बताए । बधशाला दीगोरुपमा चलाउन फोर पी मोडलमा फर्किनुको विकल्प छैन ।’


प्रदेश सरकार र हेफर इन्टरनेसनलको करोडौं लगानी भएको परियोजनामा बुटवलका मेयरले प्रदेश सरकारको विपक्षमा हुने गरी एकलौटी गरेर जान नसक्ने स्पष्ट पार्दै ढकालले बधशाला सञ्चालनको जिम्मेवारी किसान र व्यवसायीको हातमा ल्याएरै छाड्ने बताए ।
माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले उपमहानगरले निजी कम्पनीको स्वार्थ पुर्ति गर्ने उद्देश्यले अनुगमन आतंक मच्चाएर वर्षौंदेखि चलेका मासु व्यवसायीलाई विस्थापित गर्न खोजेको भन्दै दशैंको मुखमा अनुगमन आतंक र अनुचित हस्तक्षेप बन्द गर्न माग गरे । उनले जनताको स्वास्थ्यमा खेलवाड गर्ने ब्यवसायि कानुनको दाएरामा आउनु पर्ने बताए ।
विप्लव नेतृत्वको नेकपाका बुटवल सेक्रेटरी विष्णु बेल्बासेले किसान र व्यवसायीसंग भएको सहमति विपरित टेन्डरमार्फत निश्चित कम्पनीलाई बधशाला सुम्पिनु भित्र गलत नियत देखिएको र पुंजिपति कम्पनीको सिन्डिकेट लाद्न खोजिएकाले यसविरुद्ध आफ्नो पार्टी उभिने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश समिति सदस्य महेन्द्र उपाध्यायले व्यवसायीका माग जायज रहेका भन्दै कानूनको आडमा नेपाली नागरिकले आफूले वर्षौंदेखि गर्दै आएको व्यवसाय गर्न पाउने अधिकार खोस्न नपाइने बताए । राप्रपाका नेता लक्ष्मणप्रसाद श्रेष्ठले उपमहानगरले व्यवसायीलाई संरक्षण गर्नुको साटो विस्थापित गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।
बुटवल मासु उत्पादक तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्ण पौडेलले लुम्बिनी प्रदेशका ६ जिल्लाका करिब ३५ हजार बाख्रापालक महिला किसान र रुपन्देहीका करिब ५ सय मासु व्यवसायी मिलेर फोर पी मोडलमा बधशाला चलाउने अवधारणा र पुर्व सहमति समेत मेयर खेलराज पाण्डेयले तोडेर निजी कम्पनीलाई दिएपछि समस्या उत्पन्न भएको बताए । बुटवल मासु उत्पादक तथा प्रशोधन प्रालिमा ३४ सहकारी, ४ इन्भेष्टमेन्ट कम्पनी गरी ५ हजार १ सय २६ शेयर सदस्य छन् । बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले प्रकृया पूरा गरेरै निजी कम्पनीलाई बधशाला सञ्चालन गर्न दिइएको दावी गर्दै व्यवसायी र राजनीतिक दलका सरोकारबारे छलफल गरी निकास खोज्न सकिने बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.