२१ असोज २०८१
बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो ।
दशैंका बेला पश्चिम नेपालका पहाडि जिल्लामा गरिने धार्मिक पौराणिक मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल पौवाका ब्राण्डिङ प्रमुख बिष्णु भण्डारीले जानकारी दिए ।
यस वर्ष गुल्मीको छत्रकोट गाउँपालिका-१ हुँगाको टोलीद्वारा सराय नाच प्रस्तुत गरिने भण्डारीले जानकारी दिए । विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपिठहरूमा नाचिने सराय नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखिनै होटल पौवाले कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । पछिल्लो पटक तराइका जिल्ला हरुमा समेत सरायँ खेलिन थालिएको छ ।
हिन्दु परम्परा अनुसार हरेक वर्षको बडादशैँका बेला एकादशीदेखि पूणर्िमा सम्म सरायँ नाच्ने प्रचलन रहेपनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जगेर्नाका लागि आफूहरुले कार्यक्रम आयोजना गरिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले उल्लेख गरे । कार्यक्रम बारे जानकारी गराउन सोमाबर आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले कार्तिक २ गते आयोजना गरिने सराय नाचसँगै विभिन्न नेपाली परम्पराका परिकारहरु समेत राखिने उल्लेख गरे । सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका कम्तिमा ५० रुपैयाँदेखिका परिकारहरुको स्वाद दर्शकले लिन पाउने पाठकले जानकारी दिए । विभिन्न परिकारका २० बढी स्टलहरुसहित आयोजना गरिने सरायँ नाच प्रस्तुतीमा प्रवेश भने निःशुल्क रहने छ ।