सिड्नी > अष्ट्रेलियाको वेष्ट्रन सिड्नीमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छन् । नेपालका विभिन्न स्थानबाट आएर यहाँ बसोबास गरेका नेपालीहरुको बिहीबार ब्लाकटाउनमा सम्पन्न भेलाले वेष्ट्रेन सिड्नी नेपाली समाजको प्रारम्भिक समिति गठन गरेको हो । वडादशैं, शुभदिपावली, छठ एवं नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान सहितको भेलाले राम अर्यालको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नवीन अधिकारी, सचिव संयोग गौतम, सह—सचिव सुभाष मैनाली र कोषाध्यक्ष नन्दलाल घिमिरे रहनुभएको छ । समितिको सदस्यहरु निकट भविष्यमैं आयोजना हुने अर्को भेलाले छनौट गर्ने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । समितिले समग्र नेपाली समुदायमा भातृत्वको विकास, आर्थिक तथा सामाजिक हित प्रवद्र्धन, नेपाली रीतिरिवाज, भाषा, कला, संस्कृतिको संरक्षणमा विभिन्न रचनात्मक काम गर्ने सचिव संयोग गौतमले बताउनुभयो । वेष्ट्रन सिड्नीमा नेपालीहरुको बसोबास उल्लेख्य संख्यामा रहे पनि सामूहिक हीत प्रवद्र्धनका कामहरु हुन नसकेको सन्दर्भमा समितिले यसको संभाव्यता अध्ययनको काम समेत अघि बढाउन खोजेको अध्यक्ष अर्यालको भनाइ छ । भेला आयोजनाका लागि कंगारु लोन डट कम डट एयु र तिलिचो कन्सलटिङ्ग ग्रुपको सहयोग रहेको थियो । भेलाका सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्नुको साथैं नेपालीहरुका चाडपर्वहरुमा यसरी नैं कार्यक्रमहरु निरन्तर गर्न अगुवाहरुलाई आग्रह गरेका थिए । भेलामा वेष्ट्रन सिड्नीमा बसोबास गर्ने नेपालीका साथैं नेपालबाट आएका उनीहरुका अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।