बुटवल ।
नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। आजको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा हो । तर दिनभर नै टिका लगाउन मिल्ने र साइत पर्खनु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नौदिनसम्म दशैं घरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ ।
पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
पुरुषलाई आशीर्वाद दिँदा-
आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे- भनेर आशिष दिइन्छ ।
यो भनेको द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् । दशरथ राजाको जस्तो मान-सम्मान फैलिइ रहोस् । शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् । नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् । हावाको जस्तो तीब्र गति होस् । दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् । आकाश जस्तो शान्त र पराक्रमी होस् ।बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादिता होस्। विदुरको जस्तो विज्ञान होस् । नारायणको जस्तो कृति होस् । भनेको हो ।
यस्तै महिलाहरुलाई आशीर्वाद दिँदा- जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते । भनिन्छ । जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ । भनेको हो ।