रामकृष्ण भण्डारी
ललितपुरको चापागाँउका ३६ वर्षिय लालवीर थापाले घर रंगाउने काम गर्न थालेको ११ वर्ष भयो । साना ठूला घरहरुमा पेन्ट्स् लगाउने काम भएकोले रंगीचंगी कलरहरुसँग खेल्नु उनको दैनिकी नै हो । अग्ला घरहरुमा डोरी र भर्याङ्गमा चढेर जोखिमले रंग लगाउँदा पैसा राम्रै पाइने भएकोले उनी आफ्नो पेसाबाट असन्तुष्ट छैनन् । घर रंगाउँदा इमल्सन, प्राइमर, इनामेलको धेरै काम हुन्छ । पेन्टिङ्गको काम गर्दा धुलो कहिलेकाँही मुख र नाकमा पस्ने तथा आँखा पोल्ने, एउटै ड्रेस धेरै प्रयोग हुने भएकोले घरमा कपडा टक्टक्याउँदा कहिले काँही छोरा छोरीले धुलोका कारण आँखा मिच्ने र खोक्ने गरेको भने उनलाई सम्झना छ । तर दिनहुँ खेल्ने पेन्ट्स् कति घातक हुन्छ भन्ने चाहीँ उनलाई थाहै छैन् । आफूलाई अचेल चिड्चिडाह हुने र कब्जियतको समस्या हुन थालेको भने उनको अनुभव छ । तर त्यो पेन्ट्स् मा मिसाइने लिड अर्थात सिसाको विषाक्तताको कारण हो भन्ने त थापाको कल्पनामा पनि छैन । उनी भन्छन् –कलरमा सिसा हुन्छ र त्यसले असर गर्छ भन्ने त मलाई थाहै छैन् ।आजकल मानिसहरु चमकधमकमा रमाउँछन् । तर धेरैलाई थाहा छैन सिसाको विषाक्तताबारे । आफूले चम्काएको घरमा होस वा आफूले लगाउने चम्किला गहना र बच्चाले खेलाउने चम्किला खेलौनामा सिसाको प्रयोग कति छ र त्यसले कस्तो असर गरेको छ भन्ने थाहा नहुँदा चमकपूर्ण रहर घातक बनिरहेको छ । सिसायुक्त पेट्रोल, पानीको पाइप, विजुली गाडीको लागि प्रयोग हुने व्याट्रिको पुनर्प्रयोग लगायतका कारणले पनि लेडको असर देखिन्छ ।
के हो सिसा अर्थात लेड पाँच हजार वर्षदेखि प्रयोगमा रहेको मानिने सिसाको प्रयोग वास्तवमा जनस्वास्थ्यसम्बन्धी ठूलो समस्या बनिरहेको छ । लेडलाई नेपालीमा सिसा भन्ने गरिन्छ । तर यो झ्याल ढोकामा प्रयोग हुने वा ऐनाको सिसा भने हैन । यो त एउटा गह्रुगों धातु हो। यो धातु कुनै पनि पदार्थमा मिसाउँदा यसले चमक दिन्छ । खिया लाग्नबाट रोक्छ । कुनै वस्तुलाई बिग्रनबाट बचाउँछ । त्यसैले चमककै लागि वा आकर्षक देखाउन उपयोग गर्ने वस्तुमा लेड प्रयोग बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले लेडलाई विश्वव्यापीरुपमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायनका रुपमा पहिचान गरेको छ । सिसाको विषाक्तताबाट विश्वव्यापी वर्षेनी १० लाख मानिसको मृत्यु हुने गरेको र मध्यम आय भएका मुलुकमा यस्तो रसायनका कारण वार्षिक ९७७ अर्ब डलरभन्दा धेरैको क्षति हुने गरेको डब्लुएचओको तथ्यांक छ ।
लेडको असर लेडले खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पार्ने विज्ञहरु बताउँछन । पाँच वर्ष मुनिका बालबालिका, गर्भवति र स्तनपान गराउने महिला पनि धेरै प्रभावित हुन्छन् । यस्तो पेन्ट्स उद्योगमा काम गर्नेहरु, घरमा रंग लगाउने, लिपिस्टिक तथा पाउडर प्रयोग गर्ने र त्यस्ता कारखानामा काम गर्नेहरु पनि सिसाको विषाक्तताको असरबाट बढी प्रभावित हुनेमा पर्छन । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेडले गरेको दुई वर्ष अघि मधेश प्रदेशका रङ्ग उद्योगमध्ये ३३ प्रतिशत भन्दा बढी उद्योगमा मापदण्डभन्दा बढी लेड पाइएको र त्यस क्षेत्रमा बसोबास गर्ने करिब ५० जना बालबालिकाहरूमा परीक्षण गर्दा सबैको रगतमा लेड भेटिएको थियो । त्यही लेड श्वासप्रश्वास, खाना, छालाका माध्यमबाट शरीरभित्र पुग्छ । त्यसलाई हाम्रो शरीरले पचाउन भने सक्दैन। शरीरले पचाउन नसकेका त्यस्ता सिसाका मसिना कण शरीरका कोष कोषिकामा छिरेर गम्भीर असर पुर्याउँछ । लेडले खासगरी बालबालिकाको शारीरिक र मानसिक तथा बौद्धिक विकासमा अवरोध पुर्याउँछ । बाल रोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलका अनुसार बालबालिकाको शरीर कमजोर हुने भएकोले लेड शरीरमा गएपछि दीर्घकालिक रूपमा स्वास्थ्य समस्या निम्त्याउँछ । वयस्कहरुमा उच्च रक्तचाप, कव्जियत तथा चिडचिडाहट पनि बढ्नुका साथै मुटु र मृगौलामा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको विषाक्ताले न्यूरोलोजिकल असर तथा रोग लाग्ने जोखिम बढी हुन्छ । जुन मानिसको मृत्युको कारण बन्छ । लेडको सम्पर्कबाट दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या हुने भएकाले त्यसतर्फ ध्यान जानुपर्छ । रङ्गको प्रयोगबारे जनता आफै पनि सचेत र चनाखो हुन आवश्यक छ । स्वास्थ्य मन्त्रालयसमेतको अनुसन्धानले जडीबुटी भन्दै बेचिने हर्बल औषधि, इनामेल, तेल रंग, कतिपय ससाना घरेलु उद्योगका रुपमा उत्पादित चाउचाउमा समेत लेड मिसाइने गरेको देखाएका छन् ।आयातित गाजल, लिपस्टिक लगायतका सौन्दर्य प्रसाधनमा समेत लेड मिसाइने गरेको छ । सामान चम्काउन प्रयोग गरिने रङमार्फत ती सामानमा लेड जान्छ भन्ने थाहा पाइयो भने त्यस्ता वस्तु प्रयोगबाटै जोगिन सकिन्छ ।
आयुर्वेदिक औषधि प्रयोग गर्दा पनि कतै लेड प्रयोग पो भएको छ कि भनेर हेक्का राख्नु आवश्यक भैसकेको छ । लेडले स्नायुमा सबैभन्दा बढी असर पार्छ । यस्तो असरले स्नायु र मस्तिष्कले सामान्य अवस्थामा झैँ काम गर्दैनन् यो दीर्घकालीन असर हो । लेडको विषाक्तताले नपुंसक बनाउने, मानसिक समस्या उत्पन्न हुने र क्यान्सर लाग्नेसमेत अध्ययनहरुले देखाएका छन् । खेलौना र खाद्य पदार्थमा हुने रङको कुरा छँदैछ, होली र तिहारजस्ता चाडपर्वमा प्रयोग हुने रङमा लेड प्रयोग हुने गरेको छ । कृत्रिम रङले छालामा एलर्जी, डाबरदेखि लिएर रङ सिधै आँखामा पर्दा ज्योति गुम्ने जोखिम हुन्छ ।
लेडको प्रयोग र मापदण्ड लेड प्राय रङ्गलाई चम्किलो बनाउन, धातुमा खिया लाग्न नदिन र रङ्गलाई चाँडो सुकाउन प्रयोग हुन्छ । हाम्रो वरपर रहेका र हामीले प्रयोग गर्ने धेरै वस्तहरु सिसाको विषाक्तताका स्रोतहरू हुन् । नेपाल सरकारले वि।सं।२०७१ साल पुस ७ गते प्राणघातक रसायन लेड ९सिसायुक्त० सम्बन्धी मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो। सरकारको मापदण्ड अनुसार रङ्गमा ९० पीपीएमभन्दा बढी लेड प्रयोग गर्न पाइँदैन। तर, प्राणघातक लेडको प्रयोगमा जोखिमपूर्ण सामग्रीहरू उत्पादन गरिरहेको सरकरी अध्ययन र सर्वेक्षणले नै देखाउने गरेको छ । मापदण्ड सार्वजनिक भएको वर्षौँ हुँदा पनि बजारमा मापदण्ड विपरीत रङ्ग र इनामेल विक्री वितरण हुनु चाहीँ अनुगमन र नियमनमा कडाइ नहुनुको परिणाम हो । अहिले त तीन तहका सरकार छन् । यो अवस्थामा स्थानीय सरकारले नीतिगत व्यवस्था कार्यान्वयन र अनुगमनमा ध्यान दिन अति नै जरुरी छ ।
मानव शरीरमा भित्रिने मध्ये ९५ प्रतिशत लेड लामो हाडहरुमा गएर जम्मा हुने अध्ययनले देखाएको छ । त्यस्तै चार प्रतिशत मस्तिष्क, फोक्सो एवं मुगौलामा गएर जम्मा हुने तथा १ प्रतिशत रगतमा जम्मा भएर बस्ने गर्छ । सिसाको विषाक्ता अर्था लेडको अनुचित प्रयोग रोक्न कानुन कार्यान्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो ।त्यसबारे जनचेतना र स्वय सावधानी पनि आवश्यक छ । विज्ञहरुले एक लिटर पेन्टस् मा ९० ग्रामभन्दा कम लेड भएका रङहरू मात्र प्रयोग गर्न सुझाव दिने गरेका छन् । लेडको असर मन्द विषको रुपमा मानव जीवनलाई आक्रमण छ । घरको भित्ता, फर्निचर आदिमा प्रयोग गरिने लेड मिसाइएको रङ्ग तथा खेलौनाबाट बिशेषगरी श्वासप्रश्वास, खाना, पानी र धुलोको माध्यमबाट बालबालिकाको शरीरमा प्रवेश गर्दछ । त्यसैले बच्चाले चम्किला खेलौना खेल्दा मुखमा हाल्ने र त्यसरी सिसा पेटमा पुग्ने गरेकोले चम्किला खेलौना प्रयोग नगर्न र खासगरी महिलाहरुले अत्यधिक सिसा मिसाइएको लिपिस्टिक प्रयोगबाट बच्नुपर्ने डाक्टर पोखरेलको सुझाव छ । [email protected]