काठमाडौं । लेड अर्थात विषाक्त सिसा मन्द विषका रुपमा फैलिरहेको र यसले जीवनभर क्षति पुर्याइरहने भन्दै विज्ञ तथा सरोकारवालाहरुले लेडको विषबाट बच्न सरकारी नियमन र व्यक्तिगत सचेतना अनिवार्य भएको बताएका छन् । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रिय संघ वातावरण कार्यक्रमको संयुक्त सहकार्यमा गठित लेड युक्त पेन्ट उन्मुलनका लागि बिश्वब्यापी सन्जालको आवहानमा सुरु भएको लेड विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा वक्ताहरुले यस्तो बताएका हुन् ।
लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सप्ताह २०२४ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) काठमाण्डौले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग र नेपाल हेल्थकेअर पत्रकार समाजको समन्वय र सहकार्यमा विश्वब्यापी कार्यक्रम गरेको हो । त्यस अवसरमा साना तथा मझौला उद्यम पेन्टसहरुमा लेड सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । यस्तै पत्रकारहरु माझ गरिएको लेख प्रतियोगिताको विजयीहरुलाई सम्मान पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावारण विभागका महानिर्देशक ज्ञानराज सुबेदी, काठमाडौँ मेडिकल कालेजका प्रोफेसर डा सुनिलकुमार जोशी, नेपाल हेल्थकेअर पत्रकार समाजका अध्यक्ष अतुल मिश्र, लगायतले लेडको प्रयोगले मानव जीवनमा पारेको असरबारे बोल्नु भएको थियो । कार्यशालामा स्थानीय सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, वातावरण, उपभोक्ता, गैरसरकारी संस्था, शिक्षक, प्राध्यापक, पेन्ट उद्योग, पेन्ट डिलर तथा खुद्रा बिक्रेता, पेन्टर, स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, पत्रकारहरू लगायतको सहभागिता थियो । सेफेडकी प्रतिनिधि पुनम मण्डलले स्वागत गर्दै उद्घाटन सत्रको सुरुवात गरेको कार्यक्रममा सेफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले कार्यक्रमको लक्ष्य र उद्देश्यमाथि प्रकाश पार्नुका साथै भर्खरै सार्बजनिक गरिएको साना तथा मझौला पेन्ट उद्योगका पेन्टहरुमा गरिएको अध्यन प्रतिवेदनबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
उहाँले पेन्टमा सिसा र यससँग सम्बन्धित प्रभावहरूको बारेमा जानकारी दिदै नेपालमा मनाइने लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सप्ताह उत्सवका बारेमा पनि जानकारी गराउनुभएको थियो । अध्ययनमा काठमाडौं, भक्तपुर, ललितपुर, बिराटनगर, चितवन, वीरगंज, हेटौडामा रहेका १८ वटा साना तथा मझौला उद्योग उद्योगहरूका १९ वटा ब्रान्डका २० वटा रातो, गोल्डन पहेलो, फिरोज़ा, हरियो, कालो, खैरो, चकलेट रङका पेन्टका नमूनाहरु समावेश गरिएको थियो । २० वटा पेन्टका नमूनाहरुमा ५५ प्रतिशतले सरकारी मापदण्डको परिपालना गरेका र बाँकी ४५ प्रतिशतले सरकारी मापदण्डको परिपालना गरेका थिएनन्।
सात प्रतिशत पेन्ट्सका नमूनाहरूमा १० हजार पीपीएमभन्दा बढी सीसाको खतरनाक उच्चस्तर पाइएको थियो प्रत्येक नेपाली भान्सामा व्यापक रुपमा प्रयोग हुने बेसारजस्ता मसलामा, घर फर्निचर, स्कूल, खेलमैदान आदि रङगाउने पेन्ट्स तथा अन्य दैनिक उपभोग्य वस्तुहरू जस्तै कस्मेटिक्स, चाउचाउ, आयुर्वेदिक औषधि, कृत्रिम गहना, लेड एसिड ब्याट्री, इलेक्ट्रोनिक फोहरमा सिसाको स्रोत लाई कम गर्न वा उन्मुलन गर्नको लागी नियमित बजार तथा उद्योग अनुगमनमार्फत पेन्टमा लेडको मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नुपर्ने कार्यकारी निर्देशक साहले आग्रह गर्नु भएको थियो ।
प्रतियोगितामा विजयी काठमाडौँका अमर्त्य मिश्रा, जनकपुरका सुभाष कर्ण, काठमाडौँका रामकृष्ण भण्डारी, नेपालगन्जका कृष्ण अधिकारी र ललितपुरका मनोज कुमार शाहलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।