दाङ, दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, । मृत्यु हुनेमा जिप चालक दंगीशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र कपुरकोट गाउँपालिका ६ बस्ने १९ वर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरु दुबै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । रोल्पा कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप शनिबार बिहान करिब ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ साततले स्थित सडकदेखि करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको इप्रका तुलसीपुरले जनाएको छ । यस्तै दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा कपुरकोट गाउँपालिका ६ बस्ने ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा १३ महेश वली र १० वर्षीय छोरा १० जीवन वली रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज बाँके गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गाडीमा चालकसहित ५ जना सवार रहेका थिए ।