काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ ।
कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट गर्नुभयो ।
मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उहाँले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको बताउनुभयो ।
अब एक वर्ष आठ महिनापछि आफूले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाँले दोहोर्याउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्मा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाउनुभयो ।
“म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ । भनेको छु ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं । नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।”