रोल्पा । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो । रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक पाँचै जनाको पहिचान खुलेको जानकारी दिनुभयो । सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको उहाले बताउनुभयो । यो पुल निर्माणमा सात जना खटिएका थिए भने पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।