काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताउनुभयो । लाखौं लाख जनता साथ लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूणर्ता दिइने उहाँले बताउनुभयो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताउनुभयो ।
उहाँले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताउनुभयो ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वणर्िम अक्षरमा लेखिएको बताउनुभयो । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उहाँले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वको नेतृत्वमा समाजवादी अभियान अघि बढानुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको थालनी र सन्चालनहुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताउनुभयो । उहाँले जनयुद्धको कथा लेख्न बाकी रहेकाले यसमा सबै यौद्वाहरुको ध्यान दिनुपर्ने बताउनुभयो । अर्का डेपुटी कमान्डर चक्रपाणि खनाल बलदेवले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र संभव भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो ।