युवालाई विदेश जानबाट रोक्न के गर्ने ?

बीपी गौतम
पछिल्लो एक दशकयता युवाहरु धमाधम विदेश गैरहेका छन् । हिजो खाडी मुलुक बसेर आएका युवाहरु अहिले आफ्ना छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान लगायतका युरोपियन मुलुक पठाइरहेका छन् । आर्थिक रुपमा सम्पन्नहरुले त यसअघि नैं आफ्ना छोराछोरीलाई ती देश पठाइसकेका थिए; आज पनि त्यो क्रम रोकिएको छैन । हिजो आर्थिक रुपमा सम्पन्न व्यक्तिका छोराछोरीले मात्र ताक्ने मुलुकहरु अहिले निम्न मध्यम वर्गका छोराछोरीको पनि पहुँचमा छन् । जमिनको मूल्यांकन बढ्नु, रेमिटान्स, बैंक तथा वित्तीय संस्थाको पहुँच जस्ता यसका प्रमुख कारणहरु ह्ुन् ।
अहिलेको युवा होइन, किशोरकिशोरी समेत प्लस टु पछि नेपाल अडिन चाहान्नन् । प्लस टु पछि विदेश जानेको अवस्था यस्तो छ की; विद्यार्थी अभावमा स्नातक र स्नातकोत्तर अध्यापन गराउने कलेजहरु एकपछि अर्को बन्द हुँदै गएका छन् । युवाहरुमा अध्ययनको नाममा विदेश जाने गरे पनि अधिकांशको चाहना पैसा कमाउने र उतै सेटल हुने नैं हो । अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका युरोपियन मुलुक जानेहरुमध्ये अधिकांश कुनै बाध्यता वा कानूनी अड्चनबाहेक नेपाल फर्किन चाहाँदैनन् । उनीहरुको उतै कमाउने, रमाउने, उतै सेटल हुन चाहान्छन् । गैरआवासीय नेपालीहरुको बढ्दो तथ्यांकले यसलाई पुष्टी समेत गर्छ ।
के विदेश जाने बित्तिकैं फलिफाप हुने हो ? विदेशमा के त्यसतो छ, जस्ले नेपाली विद्यार्थीहरुलाई आकर्षण गरिरहेको छ ? मेरो तीन महिनाको अष्ट्रेलिया बसाइको अनुभवमा आकर्षक कमाई, सामाजिक सुरक्षा, कानूनी राज्यको अनुभूति, लोकल्याणकारी शासन व्यवस्था लगायतका कारण नेपालीहरु आफ्नो देश फर्किन चाहाँदैनन् । नेपालमा रहेका आमाबुबा, आफन्त, साथीभाई, छिमेकी, बन्धुबान्धव सम्झेर, मातृभूमिको माया लागेर स्वदेश फर्किनेहरु अत्यन्त कम छन् । विदेशमा रहेका नेपालीहरुलाई आफ्नो देशको माया नलाग्ने कहाँ हो र ? लाग्छ । तर, त्यहाँको सुविधा, वातावरण, कमाइ, सन्तानको भविष्य आदि सम्झेर नेपालीहरु त्यहीँ अल्झिरहेका छन् ।
तीन महिनाको अष्ट्रेलिया बसाइमा मैले त्यहाँको स्थायी बसोबासको अनुमति पाएका, भोटिङ्ग राइट पाएका कयौं नेपालीहरुसँग साक्षात्कार गर्ने अवसर पाएँ । कुराकानीका क्रममा उनीहरुले भन्ने गरेको एउटै कुरा छ–‘नेपालमा सिष्टम छैन । सिष्टम भए नेपाल बन्छ । हाम्रो पुस्ता त बाध्य भएर विदेशिनु पर्यो, अझै कति पुस्ता यस्तै गरी विदेशिनु पर्ने हो ?’ विदेशमा रहेका अधिकांश नेपालीहरुलाई नेपालमा जस्तो मस्ती अवश्य छैन । काम नगरे आम्दानी छैन । तर, एक हप्ता काम गर्यो भने एक महिना जस्तो खान पुग्छ । काममा कुनै भेदभाव छैन । जुन काम गरे पनि लगभग उस्तै–उस्तै कमाइ छ । काम के गर्छ भन्ने कुराले खास अर्थ राख्दैन । कति कमाउँछ भन्ने कुराले अर्थ राख्छ ।
स्थायी बसोबास अनुमति पाएकाहरुलाई त्यहाँको राज्यले विभिन्न सुविधा दिएको छ । राज्य यतिसम्म कल्याणकारी छ की; अपाङ्गता भएका, घरबारविहीन भएकाहरुको सम्पूर्ण जिम्मा सरकारले लिन्छ । नागरिकले कहीँ काम पाएन भने निर्वाह भत्ता दिन्छ । नागरिक पनि निकै विनयशील छन् । सरकारले तोकेको कर तिरेका छन् । सारमा भन्नुपर्दा देश सिष्टममा चलेको छ । कहीँकतै शक्तिको कारण छुट पाउन सक्ने अवस्था छैन । सहर तथा बस्तीहरु निकै सफा छन् । वातावरण हराभरा छ । प्रतिघण्टा १२०–१३० किलोमिटर सम्म सवारीसाधन चलाउन मिल्ने सडक छन् । ठाउँ–ठाउँमा आकर्षक पार्क छन् । आवासीय क्षेत्रमा जत्रोपायो त्यत्रो घर बनाउन पाइँदैन । सबैको एउटै प्रकारका घर छन् । घरमा विभेद छैन । विकास एउटै मोडलमा छ । यहीँ देखेर नेपालीहरु नेपाल फर्किन नचाहने मैले पाएँ ।
नेपालमा अहिले तराईंमा एउटा घर बनाउन एक करोड बढी लाग्छ । सामान्य कमाइ हुने मानिसका लागि एउटा घर बनाउनु ‘आकाशको फल, आखाँतरी मर’ जस्तै हो भन्दा अनर्थ नहोला । किनकी मुस्किलले ३०÷३५ हजारको जागिर गरेर परिवार कसरी चलाउने ? घर कहिले बनाउने ? यहीँ कारण नेपालीहरु नचाहँदा नचाहँदै पनि विदेश जान बाध्य छन् । नेपालमा युवाहरुलाई रोक्न सकिन्छ । तर, अत्यावश्यक सेवा–सुविधा प्राप्त गर्ने अवसर राज्यले दिन सक्नुपर्छ ।
विदेशमा पढाइ सँगसँगै काम हुन्छ । केही अपवाद बाहेक नेपालबाट जाने विद्यार्थीहरुले आफै कमाएर कलेज फी तिर्छन् । आफ्ना दैनिक आवश्यकताहरु सजिलै पूरा गर्छन् । तर हामीकहाँ पढाइसँगै काम गराउने प्रवृत्ति छैन । अब कलेजहरुले नैं यो व्यवस्था मिलाउनुपर्छ । पढ्नका लागि दिनहुँ कलेज गैरहनुपर्ने अवस्था हुनुहुँदैन, उच्च शिक्षामा । यस्तो हुँदा काम र पढाइ सँगसँगै अघि बढ्न सक्छ । विद्यार्थीलाई सामूहिकतामा काम गर्ने बानीको पनि विकास हुन्छ । पढाइ सँगसँगै आम्दानी हुँदा अत्यावश्यक खर्चको व्यवस्था विद्यार्थी आफैं गर्न सक्छन् । राम्रो मोबाइल, ल्यापटप, स्वास्थवद्र्धक खानेकुरा, सहजपूर्ण यातायात, घरमा तातोचिसो पानी, आरामदायी बसाइ–सुताइ, पहुँचयोग्य स्वास्थ्य सेवा; अधिकांश युवाहरुका बेसिक निड यी र यस्तै हुन् । के यी कुराहरु नेपालका आमयुवाहरुको पहुँचमा छन् ? छैनन् । यसर्थ युवाहरु विदेश गैरहेका छन् ।
नेपालमा सबैभन्दा समस्या भनेको छरिएर रहेको बस्ती हो । पहाड र हिमालमा यो समस्या छ नैं, तराईमा समेत यहीँ समस्याका कारण गुणात्मक विकास हुन सकेको छैन । अव्यवस्थित बसोबासका कारण राज्यको ठूलो रकम दुई–चार घरका लागि सडक, खानेपानी, विद्युत्, ढल, टेलिफोन पुर्याउनैंमा खर्च भैरहेको छ । एकीकृत बस्ती हुँदा साथ भौतिक पूर्वाधारमा गरिने खर्चले गुणात्मक प्रतिफल दिन सक्छ । चालु आर्थिक वर्षको लुम्बिनी प्रदेश सरकारको बजेट हेर्नुहोस्–दश÷पन्ध्र लाखका सडक र ढलका कति शीर्षक छन् । दश÷पन्ध्र लाखमा कस्तो र कति लामो कालोपत्रे सडक बन्ला ? आम मतदाताको माग सडक कालोपत्रे नैं हुन्छ । धेरैले प्रयोग गर्ने मुख्य सडकहरु बेहाल हुन्छन् । तर, भित्रि सडकलाई बजेट विनियोजन गर्नुपर्ने बाध्यता जनप्रतिनिधिहरुलाई छ । किनकी जनप्रतिनिधिहरुलाई मतदाता रिझाउनु छ । मतदाता रिझाउनैं केन्द्रीत छ हाम्रा तिनै तहका सरकारको बजेट ।
यदि एकीकृत बस्ती हुन्थ्यो भने सीमित क्षेत्रमा धेरै घर बन्थे । सडक, खानेपानी, विद्युत्, टेलिफोन, सुरक्षा, विद्यालय सबै एकै ठाउँमा हुन्थे । यसले सरकारलाई सेवा प्रवाह गर्न र नागरिकलाई सेवा प्राप्त गर्न सहज हुन्थ्यो । सीमित क्षेत्रमा बन्ने सडक स्तरीय बन्थ्यो । मर्मतसम्भार गर्न सहज हुन्थ्यो । यसो गर्दा विकासको प्रतिफल देखिन्थ्यो । अष्ट्रेलियामा मैले यहीँ देखेँ ।
आवासीय क्षेत्रमा एकीकृत बस्ती बसाल्दा कृषि र बसोबास सँगसँगै अघि बढ्दैनन् । कृषिका लागि चक्लाबन्दी जमिन प्राप्त हुन्छ । चक्लाबन्दी जमिनमा कृषि गर्दा त्यहाँ मेसिनको प्रयोग सहज तरिकाले गर्न मिल्छ । यस्ले लागत घटाउँछ । विकशित मुलुकमा आवासायी क्षेत्रमा खेतीपाती, पशुपालन केही पनि गर्न पाइँदैन । तर, कसेराबारी भने गर्न मिल्छ । यसरी कृषि क्षेत्र अलग हुँदा आवासीय क्षेत्रमा कृषि कार्य गर्दा उत्पन्न हुने धुलोधुवा, हिलोमैलो पनि नहुने भयो । यसले सहरी सौन्दर्यमा टेवा पुर्याउने भयो । यहीँ कारण विकशित मुलुकले बसोबास र कृषि क्षेत्र अलग–अलग गरेका छन् । नेपालमा पनि कृषि क्षेत्रमा कृषि गरेकालाई मात्र अनुदान वा अन्य सहयोग गर्ने नीति बनाउनुपर्छ । यसो गर्दा कृषि क्षेत्रको महत्व बढ्छ । कृषि पनि एउटा उद्योग जस्तो हुन्छ । बाह्रै महिना काम हुन्छ ।
हाम्रा पनि सडक फराकिला र सफा हुने, अस्पतालमा भीडभाड, सोर्सफोर्सविना सहज तरिकाले बीमाबाट उपचार हुने, क्षमताको आधारमा पढ्न पाइने, तरकारी, तयारी खानेकुरा, मासु, अण्डा स्वास्थ्यका दृष्टिकोणले ढुक्कका साथ प्रयोग गर्न सकिने, कामको सुनिश्चित हुने र कामको आधारमा बैंकले ऋण दिने व्यवस्था हुने जस्ता व्यवस्था हुने हो धेरै कम युवाहरु विदेश जाने थिए । अहिले त अवस्था यस्तो भयो की–कोही युवाले स्वदेशमैं केही गर्छु भनेर बसेको छ भने पनि विदेश जान नपाएर बसेको जस्तो भाष्य निर्माण भैरहेको छ । जे–जे कुरा गरे पनि मुलुकको मूल नीति भनेको राजनीति नैं हो । नेपालमा युवाहरुलाई रोक्ने हो भने राजनीति सुध्रिनु नैं पर्छ । राजनीति सुध्रियो, सत्ताको लागि मरिहत्ते गर्ने प्रवृत्ति हट्यो भने देश विकास हुन धेरै समय लाग्दैन । यसका लागि राजनीतिज्ञमा दृढ संकल्प, इच्छाशक्ति हुनुपर्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.