ज्येष्ठ नागरिक मिलन केन्द्रमा चौँथो साधारणसभा

 

पुस–२०, तिलोत्तमा ।
पुरूषोत्तम पाण्डेय
तिलोत्तमा–४, डिङ्गरनगर श्री श्रृङ्गेश्वर धाममा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रले चौथो साधारणसभा सम्पन्न गरेको छ । गुल्मेली सम्पर्क समाज रूपन्देहीको गुरुयोजना स्थल श्री श्रृङ्गेश्वर धामको विधानको मर्म र उद्देश्यअनुसार सञ्चालनमा आएको मिलनकेन्द्रमा हाल ८० भन्दा बढी जेष्ठ नागरिकले दिवा सेवा लिइरहनुभएको छ ।
बिहान एघार बजेदेखि चार बजेसम्म सात सत्रमा सञ्चालन हुने दिवासेवाअन्तर्गत ध्यान, योग, सत्सङ्ग, भक्ति सङ्गीत सञ्चालनमा हुने गरेको छ भने जन्मदिन, विवाह उत्सवलगायत खुसीका क्षणमा पण्डितद्वारा स्वस्तिवाचन गरी सहयोगदाताहरूलाई ज्येष्ठ नागरिकबाट आशीर्वचन प्रदान गर्ने गरिएको छ ।

साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ज्येष्ठ नागरिकलाई कालीगण्डकीका शालीग्रामसँग तुलना गर्दै ज्येष्ठ नागरिक जिउँदो पुस्तक भएको बताउनुभयो भने केन्द्रले ज्येष्ठ नागरिकको सेवामा महत्त्वपूर्ण कार्य गरिरहेको बताउँदै आफ्नो क्षेत्रबाट साथ र सहयोग रहने बताउनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले वडाका तर्फबाट सदैव केन्द्रलाई सहयोग गरिरहने बताउँदै समाजसेवाका लागि निस्वार्थ भाव र परोपकारी मन भएका व्यक्ति हुनुपर्ने बताउनुभयो भने गुल्मेली सम्पर्क समाज, श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागिरक मिलन केन्द्र र छोरी शिक्षा कार्यक्रममा यस्ता व्यक्तिहरू रहेकाले राम्रा काम भइरहेको बताउनुभयो ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष तथा केन्द्रका प्रमुख संरक्षक डा. नारायणप्रसाद पन्थले श्री श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलनकेन्द्र र छोरी शिक्षा कार्यक्रममा समाजले संरक्षकत्व प्रदान गरिरहेको तथा यहाँ हुने हरेक कार्यक्रममा सबैको साथ रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । श्री श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारीले धाम र मिलनकेन्द्रका कार्य सञ्चालनमा सबैको साथ रहेको बताउँदै आगामी दिनमा यस्तै साथ र सहयोग रहोस् भन्ने अपेक्षा राख्नुभयो ।
छोरीशिक्षा कार्यक्रममा अध्ययन गरिरहेकी विद्यार्थी हिरा भुसालले छोरी शिक्षा कार्यक्रमले आफू र आफूजस्तै छोरीहरूलाई नयाँ जीवन दिएकोमा धन्यवाद दिनुभएको थियो ।
त्यसैगरी सल्लाहकार टीकाराम घिमिरेले केन्द्रका नियमित सेवा सञ्चालन गर्न पाँच करोड अक्षयकोष जुटाउनुपर्ने र त्यसका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रले सञ्चालन गरेको ज्येष्ठ नागरिक दिवा सेवामा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो भने कोषाध्यक्ष मधुसुधन पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको विशिष्ट आतिथ्य, अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, नेत्रप्रसाद ज्ञवाली, मोती भण्डारी, गोविन्द अर्याल, प्रदेश शिक्षा विज्ञ दलबहादुर गुरुङ, प्रदेश ग्रामीण विकास विज्ञ युवराज घिमिरेलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रकी उपाध्यक्ष तथा खेमओमी पुन कल्याणकारी प्रतिष्ठानकी अध्यक्ष ओमी पुनले स्वागत र व्यवस्थापन समितिका सचिव गणेश कँडेलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रका सचिव दया भण्डारीले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.