माओवादीले जितेको पालिकामा समाजवादी मोडेल अभ्यास गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले जितेको पालिकामा समाजवादी मोडेल अभ्यास गर्ने भएको छ । यस्तै पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकाहरूमा खटाउने प्रस्ताव पनि पार्टीमा गरिएको छ । काठमाडौंमा आइतबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका कुनै पनि केन्द्रीय सदस्य बेरोजगार नहुनेगरी कार्यविभाजन गर्न प्रस्ताव गरेका हुन् । नेतृत्व परिचालन र जितेको पालिकामा समाजवादी मोडेलको अभ्यास गर्ने विषयलाई प्रचण्डले प्राथमिकताका साथ दस्तावेजमा उल्लेख गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘माओवादीले जितेका ग्रामथान सहित १२३ पालिकामा समाजवादी मोडेलको अभ्यास गर्न माघ २० गते पार्टीबाट चुनाव जितेका पालिका प्रमुख र उपाध्यक्षलाई केन्द्रीय कार्यशालामा सहभागी गराउने प्रस्ताव अध्यक्षले गर्नुभएको छ,’ ती नेताले भने । प्रचण्डले राजनीतिक प्रतिवेदनमा ती पालिका प्रमुख र उप्रमुखले पार्टीमा मासिक रिपोर्टिङ गर्नुपर्ने र पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर सामुदायिक समाजवादको अभ्यासमा जाने प्रस्ताव गरेका छन् । उनले पार्टीले जितेका सबै पालिकालाई एउटै मोडेलमा लैजाने प्रस्ताव पनि अगाडि सारेका छन् । ‘यो कामलाई विशेष र अभियानात्मक बनाउन टीओआर नै बनाएर काम गर्ने प्रस्ताव अध्यक्षले गर्नुभएको छ,’ ती नेताले भने । बैठकमा आइतबार भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका छन् । बैठक सोमबार पनि बस्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.