बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको १७ औं अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल भएको छ । स्थानीय सरकारको हिउँदे अधिवेशनको रुपमा चिनिने यस अधिवेशनमा गाउँपालिकाका सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास विकास समिति, विद्येयक समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, न्यायिक समितिका प्रतिवेदनहरु पेश भएका छन् । यस्तै चालू आर्थिक वर्षको वार्षिक योजनाहरु समेत संसोधन भएका छन् ।
गाउँसभाले चालू आर्थिक वर्षमा निर्माण गरिएका घर बहाल कर व्यवस्थापन कार्यविधि, ६० वर्ष उमेर पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मानजनक विदाइ कार्यक्रमको लागि तयार पारिएको निर्देशिका, ई सिफारिस स्वयम्सेवकको पदपूर्ति सम्बन्धी मापदण्ड, संस्था दर्ता कार्यविधि, २०७९ संसोधन, मानसिक तथा मनोसामाजिक समस्या प्रभावित व्यक्तिहरुको लागि विशेष सहयोग सम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक मञ्च गठन, सञ्चालन कार्यविधि, स्थानीय विकास कोष (सा.वि. कोष) सामाजिक परिचालन सञ्चालन कार्यविधि (पहिलो संसोधन), साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ बमोजिम नियुक्त भएका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी कार्यविधि, टोल शिक्षा समिति गठन तथा परिचालन सम्बन्धी कार्यविधि अनुमोदन गरेको छ ।
गाउँसभामा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले एउटा पालिकाले गरेका असल अभ्यास अर्को पालिकाले फ्लो गर्दै जाँदा समग्र जिल्लामा राम्रो विकास हुने बताउनुभयो । पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गाउँबासीलाई विकासको देखिने प्रतिफल दिने गरी काम गर्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यस्तै पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सबैको सामूहिक प्रयासबाट नैं दीगो विकास हुने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीले जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यबाट जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्न सकिने उल्लेख गर्नुभयो । साविकका सौ.फर्साटीकर, मानपकडी, मानमटेरिया र ख.वनगाई गा.वि.स.हरुको समायोजनबाट ७ वडामा विभाजित यो गाँउपालिकाको नाम गौतम बुद्धका पिताको नामबाट नामाङ्कित भएको हो ।