प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।

खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गर्नुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरुको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.