शुद्धोधन गाउँपालिकाको नाम अब ‘शुद्धोदन’

बीपी गौतम
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । गाउँपालिकाको १७ औं अधिवेशनको तेस्रो बैठकले ‘शुद्धोदन’ लाई कानूनी रुपमैं चलनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको गाउँसभाका सदस्य–सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीले जानकारी दिए । गाउँसभामा अध्यक्ष विष्णुप्रसाद बस्यालको तर्फबाट प्रवक्ता समेत रहेका कार्यपालिका सदस्य केशवप्रसाद अधिकारीले गाउँपालिकाको नाममा शुद्धिकरण तथा दीर्घकालीन सोंचमा परिमार्जन गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
गाउँपालिका स्थापना गर्दा गरिएको नामकरणको अर्थ र सान्दर्भिकतालाई समेतलाई आत्मसाथ गरेर गाउँपालिकाको नामको प्रयोग सन्दर्भमा व्याकरणिक रूपमा शुद्ध बनाउने प्रक्रिया अघि बढाउने निर्णय गाउँसभाले गरेको अध्यक्ष बस्यालले बताए । स्थापना गर्दा महामानव गौतमबुद्धका बुबाको नामबाट गाउँपालिकाको नामाकरण गरिएकोमा प्रचलनमा अशुद्ध रुप आएकोमा त्यसलाई शुद्धता दिलाउने प्रयत्न गरिएको उनको भनाइ छ । ‘जुन सान्दर्भिकता र औचित्यको आधारमा गाउँपालिकाको नामाकरण गरिएको हो; त्यसअनुरुपको नभएकोले संसोधन गर्नु परेको हो । सुरु–सुरुमा शुद्धोधन प्रयोग भयो । सरकारी कामकाजमा यहीँ प्रचलनमा आयो । सबैका डकुमेन्ट यसैंमा बने । यसैले परितर्वनमा ढिलाइ भयो । अब पनि गरिएन भने यस्तै गरेर अघि बढ्ने भएकोले परिवर्तन गर्न थालिएको हो ।’ उनले भने ।
गाउँपालिकाको नाम स्थापनादेखि हालसम्म ‘शुद्धोधन रहेको र सबैतिर शुद्धोधन नै प्रयोग भएको छ । तर व्याकरणिक रूपमा शुद्ध नभएकोले शुद्ध लेख मूख्य काम, कर्तव्य र जिम्मेवारी पनि रहेको छ । नामकरणको अर्थ र सान्दर्भिकतालाई समेत आत्मसाथ गर्नु जरुरी छ ।’ प्रवक्ता अधिकारीले गाउँसभामा पेश गरेको संसोधन प्रस्तावमा उल्लेख छ ।
गाउँपालिकाको नाम व्याकरणिक सिद्धान्तभन्दा फरक रहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाको स्थापना कालमा नामकरण गर्दा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धका पिता शुद्धोदनको नामबाट गरिएको हो । शुद्धाशुद्धिमा नियमन गर्ने विभिन्न निकायहरूबाट भाषागत रूपमा जुटी हटाई शुद्धता अपनाउनका लागि सबै स्थानीय तहहरूलाई विशेष ध्यानाकर्षण गराइएकोमा यसरी व्याकरणिक तथा भाषागत हिसाबले शुद्ध गरी लेख्न र प्रयोग गर्न जरुरी देखिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ । ‘अबको तथ्यगत विषय भनेको नामकरणको मूख्य आधार राजा शुद्धोदनको सही र शुद्ध नामलाई हृदयङ्गम गर्दै आत्मसाथ गर्नु हो । त्यसैले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा ३ बमोजिम प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने प्रयोजनार्थ गाउँपालिकाको नाम हालसम्म नेपालीमा शुद्धोधन र अंग्रेजीमा shuddhodhan भएकोमा अब उपरान्त नेपालीमा शुद्धोदन र अंग्रेजीमा shuddhodan उल्लेख गर्नु उपयुक्त ठानी यो प्रस्ताव सभामा पेश गर्दछु ।’ प्रस्तावमा उल्लेख छ ।
यस्तै गाउँसभाले गाउँपालिकाको दीर्घकालीन सोच समेत परिवर्तन गरेको छ । हालसम्म कायम रहेको ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः सुशासन र समृद्धि शुद्धोधन गाउँपालिकाको मूल आधार’ भन्ने दीर्घकालीन सोचलाई परिमार्जन गरी अब उपरान्त ‘आर्थिक विकासमा प्रवर्धनः समृद्ध शुद्धोदन’ भन्ने दीर्घकालीन सोचको तय गरी लागू गर्ने गाउँसभाले निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.