काठमाडौँ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनामा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको छ । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन फिर्ता हुने पनि फैसला गरेको छ ।
बिहीबारको उक्त फैसलामा दोषी ठहर भएका व्यक्तिबाट जनही १३ लाख ७ हजार ३ सय रुपैयाँ जरिवाना असुल्ने पनि उल्लेख छ ।
टीकापुर–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारी तथा पार्टी प्रतिनिधिको मिलेमतोमा नक्कली कागजात खडा गरी समितिको जग्गा घडेरीका रूपमा आफन्तलगायतका नाममा हक हस्तान्तरण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा विशेषमा मुद्दा दायर गरेको थियो ।
‘कतिपय पदाधिकारीले नजिकका नातेदार भाइ, भतिजा, साला, साली, ज्वाइँ इत्यादिका नाममा जग्गा हस्तान्तरण गरे÷गराएको अनुसन्धानबाट प्रमाण पेस भएको पाइन्छ,’ विशेषको फैसलामा भनिएको छ, ‘पहिले नै निवेदन दिई दाखिल खारेज नामसारी हुन बाँकी रहेका निवेदकको घडेरी प्रमाणित पत्रमा भएका अंक, अक्षर र छापसँग प्रतिवादी रहेको समितिले जारी गरेको सूचनापश्चात् पेस भएका घडेरी प्रमाणित पत्र र घडेरी प्लटको असुली पुर्जी रसिदमा भएको अंक, अक्षर र छाप विशेषज्ञको जाँच प्रतिवेदनअनुरूप मिलेभिडेको देखिन आएन ।’