बुटवल, २७ पुस । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई व्यवसायीको हितका लागि महासंघको दर्बिलो साथ र सहयोग रहने बताएका छन् । उनले सिलाई व्यवसायीहरु पछिल्लो समय धरासायी बन्दै गएकोले कला र सीपले खारिएका व्यवसायीको संरक्षणका लागि राज्यको ध्यान केन्द्रित हुन नसकेको बताउँदै त्यसका लागि निरन्तर लाग्ने बताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको ५ औं वार्षिक साधारणसभामा बोल्दै श्रेष्ठले व्यवसायीका समस्याहरुको समाधानका लागि महासंघले राज्यका विभिन्न निकायमा विशेष पहल गर्ने समेत बताए ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकुमार रणपालले सदियौंदेखि सिलाई व्यवसाय चलाएका व्यवसायीहरु पछिल्लो समय चर्को घरभाडा तिर्न नसक्दा ब्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए । रणपालले सिलाई पेशा संकटमा आएकोले यसको संरक्षण र प्रबद्र्धनका लागि सबै एकजुट हुनपर्ने बताए ।
त्यस्तैगरी परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै सिलाई व्यवसायीहरुको व्यवसाय पछिल्लो समय व्यवसायीहरुले सोचेअनुसार सञ्चालन हुन नसकेको बताए । नेपालीले भने,‘ सिलाउनेहरुको यो पेशा पछिल्लो समय निजी संघसंस्थाले सस्तो मुल्यमा एकलौटीरुपमा पहुँचको भरमा लिएका छन्, यसको अन्त्यका लागि खबरदारी गर्नुपर्ने बेला आएको छ । ’ नेपालीले कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठलाई रुपन्देही सिलाई व्यवसायीको तर्फबाट राज्यलाई ध्यानाकर्षण गराउन र व्यवसायीका विभिन्न मागहरुसहितको ज्ञापन पत्र समेत पेश गरेका छन् ।
परियार गुठी तानसेनका अध्यक्ष एवम् नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय मानार्थ सदस्य तिर्थ गौतमले बोल्दै रुपन्देही सिलाई व्यवसायीलाई अब्बल बनाउन सबै व्यवसायीहरु एकताको सुत्रमा हुनुपर्ने र त्यसका लागि सवैप्रथमतः त्याग चाहिने बताए । उनले समितिमा रहेका साथीहरुको आत्मबलसंगै रुपन्देही सिलाई व्यवसायीलाई गर्भ गर्न लायक र पेशालाई मर्यादित बनाउन कसरी सकिन्छ ? भन्ने विषयमा जोड दिए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार सरोज गौतमले संगठन विभाजनबाट व्यवसायिक एकता सम्भव नहुने भएकोले सबै व्यवसायीहरु आपसमा मिलेर व्यवसायीको हितमा लाग्नुपर्ने बताए । उनले संस्था खोल्नु ठूलो कुरा नभई भएका संस्थालाई नेतृत्व गरी अगाडि बढाउनुपर्ने बताए ।
त्यस्तैगरी नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बुटवल नगर अध्यक्ष राजेन्द्र प्रसाद यादव, राष्ट्रिय महिला उद्यमी संघ लुम्बिनी प्रदेशका सचिव मुना राना, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सुशिला श्रेष्ठ, रुपन्देही जिल्लाका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सुवर्ण कुमार रणपाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य निर्मला परियारलगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीको हितका लागि सबै लाग्नुपर्ने बताए । संघले रुपन्देही जिल्ला शाखालाई विभिन्न क्षेत्रमा सहयोग गरेको भनी बुटवल नगर, तिलोत्तमा नगर, देवदह नगर समितिलाई सम्मान गरेको थियो ।
‘व्यवसायिक एकता हाम्रो प्रतिबद्धता, उत्पादनमा नयाँ सृजनशीलता – आजको आवश्यकता’ भन्ने मुल नारासहित स्थापित संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले व्यवसायीसंगै सदस्यहरुलाई विभिन्न तालीमहरु प्रदान गरी सामाजिक कार्यमा पनि अघि बढेको छ । संघका जिल्ला अध्यक्ष सुभाष परियारको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रमेश आब्जुको स्वागत मन्तव्यमा कार्यक्रम सञ्चालन सचिव मधुमाया सेन रायमाझीले गरेकी थिईन ।