कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

काठमाडौँ , राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमसँग आबद्ध फोटो पत्रकारहरूसँगै विभिन्न कलाकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकाररपत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको बताउँदै यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई ऐनमा सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला फोटोग्राफीलगायतका विविध विषय छुटेको बताउँदै संस्थागत रूपमा यस विषयमाथि आवाज उठाई कानुनमा समेटिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको बताउँदै सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्नेमा जोडदिनुभयो । नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई घनीभूत छलफल गरेर संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो । नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखितरमौखिक सुझाव दिन आग्रह गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष सौरगांगा दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण केशव राज खनालले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.