चितवन, १९ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताउनुभयो । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरिएको बताउनुभयो । पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताउनुभयो ।
सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहल कदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुद लगायत विभिन्न क्षेत्रमा दशौं योगदान गरेका व्यक्तिहरुको पार्टी प्रवेशले चितवनको राजनीति र बामपंथी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उहाँले बताउनुभयो । यसको प्रभाव र परिणाम देशैभरि पर्ने पनि उहाँले स्पष्ट गर्नुभयो ।
उहाँले आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताउनुभयो । बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वाव पनि उहाँले व्यक्त गर्नुभयो ।