दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको बताउनु भएको हो । आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन भए पनि त्यसका नाममा विकृति तथा विसंगति फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री आचार्यले आफ्नो सन्देशमा महाशिवरात्रि भगवान् शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र पर्व रहेको उल्लेख गर्दै यसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक मानिने बताउनु भएको छ । उहाँले देशभरका शिवालयहरूमा विशेष आराधना भइरहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका धार्मिक मठ, मन्दिर तथा सम्पदाहरूलाई आपसमा जोड्ने पर्यटन सर्किटको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री आचार्यले नेपाली भूमि र भगवान् शिवबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै नेपाल सदा आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गर्नुभयो । वैदिक परम्परामा शिवलाई संहारका शक्ति मानिए पनि उहाँमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको बताउँदै प्रकृतिको सिर्जनात्मक तथा संहारकारी शक्तिलाई समान रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले महाशिवरात्रि पर्वले सबैलाई आफ्ना आचरण, व्यवहार र चिन्तनलाई सकारात्मक बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ ।