जेठा बा, संघर्ष र समय

रामकृष्ण भण्डारी

भावपूर्ण श्रद्दान्जली

फागुन १६ ,एउटा व्यक्तिको निधन, केवल शारीरिक अस्तित्व समाप्ति मात्र होइन । एउटा समय र सभ्यता पनि उ सँगसँगै विलीन हुन्छ । जेठा बा शोभाखर भण्डारीले पनि फागुन ५ गते आफ्नो सिंगो समयको अधिकांश अनुभव आफूसँगै परलोक लिएर जानुभयो । उहाँका जीवन भोगाइका अनगिन्ती अनुभवहरू मध्ये केही समाजमा बाँडिए । केही हामीले सुन्यौ मात्रै । उहाँको मनका कैयौं कुराहरु न सुनिए, नत रेकर्डमै रहे ।
म बालखै छँदाको कुरा हो, जेठा बा त्यो बेला ४०-४५ वर्ष आसपासको हुनुहुन्थ्यो । घरदेखि झण्डै एक किलोमिटर पर बारीको छेउमा रहेको चौरमा पोखरी खनेर वर पिपलको बिहे गरिदिनु भएको थियो । मौलोमा त्रिशूल र ध्वजापतका बाँधेको सम्झना अझै पनि छ । त्यो पोखरीमा खोल्साबाट कुलो बनाएर बर्खामा पानी भरेर हामी केटाकेटी पौडन्थ्यो । अहिले त त्यो चौरको नामोनिसान मेटिने गरी मासिएको छ ।
अर्को खेती प्रणाली र उत्पादनको कुरा छ । जेठा बा भन्नुहुन्थ्यो- ‘छुट्टिएको वर्ष मैले ८ मुरी कोदो फलाएको थिएँ । उपल्लो तलाभरि मकै र धन्सार चुलिने गरी धान हुन्थ्यो ।’ तर त्यो घरको धन्सार खाली हुन थालेको वर्षौ भएको छ । कोदो एक माना पनि फल्दैन अचेल । आँगनको डीलमा लटरम्मै फलेका अमिला टिपेर झुटो बोल्दा गरेको गाली होस् वा अन्तिम सास फेर्नु एकसाता अघि ‘कहिले आउँछौ घर बाबु’ भन्ने मायालु स्वर पनि अब जेठा बाको मुखबाट सुन्न पाइने छैन । नत सुन्नका लागि कानमा राख्ने मेसिन बिग्रेपछि नयाँ राखेर अरुका आवाज सजिलै सुन्ने उहाँको धोको पूरा भयो ।
त्योभन्दा भयंकर अन्याय जेठा बालाई तिर्खामाथि भएको राजनीतिले भयो । त्यही घर हो, जहाँ मैले २०४७ सालमा एकजना नेताको मुखबाटै सुनेको थिएँ- ‘अब बहुदल आयो, अब चुनावबाट हाम्रो सरकार बनेपछि सुखका दिन फिर्छन् ।’ तर जेठा बा र परिवारमा सुखका दिन कहिल्यै आएनन् । पँधेरोबाट पानी बोक्नुपर्ने बाध्यता खासै हटेन । यो ३५ वर्षमा अरुकै धारामा पाइप जोडेर आगँनको ड्रममा पानीको तुर्को थाप्नेभन्दा माथि केही भएन । राणा देख्नुभयो, पञ्चायत भोग्नुभयो, बहुदल पनि ब्यहोर्नुभयो । युद्दका बाछिँटाले पनि कहीँकतै छोयो । गणतन्त्र र घरदैलोको स्थानीय सरकार पनि भोग्नुभयो । चुनावैपिच्छे कहिले कम्युनिष्टले लोभ देखाएर भोट लगे, कहिले कांग्रेसले ललिपप देखाए । तर अहं, जेठा बाको जीवनमा जनताको सरकारले केही फरक पारेन । बरु आशैआशमा अल्मल्याए । जीवन चलाउने बाध्यतामा उल्टै गरीखाने खेत घट्यो । ठेकाठेकी कुँदेर अनि राँगो पालेर जीवन चलाउँदा चलाउँदै गोठभरीका भैसी र बाख्रा घटेर केहीवर्ष अघिसम्म एउटा गाईमा सिमित भयो ।
उ बेला हिँडेरै बटौलीबाट नुन बोकेको अनुभव उहाँले सुनाउँदा हामीलाई एकादेशको कथा जस्तै लाग्थ्यो । बुटवलबाट ट्रकमा चढेर बाउछोरा र आफन्त त्रिवेणी नुहाउन गएको अनि माटोको हाँडीभित्र केराको पात राखेर भात पकाएको र भर्सिँदा हाँडी फुटाएर पस्किएको सुनाउँदै गर्दा हामी उहाँको आँखामा हेर्थ्यो । जेठा बा भने दिल खोलेर हास्नुहुन्थ्यो ।
जेठा बा र जेठी आमाको पछिल्लो जीवन भोगाइ निकै मर्मस्पर्शी रह्यो । छोराछोरी आआफ्नै बाटो लागेपछि उहाँहरु दुई जनामात्रै । अझ पछिल्ला वर्ष उहाँ कान कम सुन्ने अनि जेठी आमाको स्मरण कमजोर । तर आफ्नै चुलोमा पकाएर खाने र आफ्नै बिस्तार नछाड्ने उहाँको अडानले कहिलेकाँही त असाध्यै दुखको सामना गर्न बाध्य पार्यो । म घर जाँदा सधै पहिले उहाँको घरमा पस्थें ।
जेठा छोराको परिवार भारतमा र कान्छा छोराको तीन वर्ष अघि निधनले बढ्यौलीमा उहाँलाई पीडामाथि पीडा भएको थियो । तर जति बाँच्नुभयो । आफ्नै बुतामा बाँच्नुभयो । गाडी लाग्ने भन्दै उहाँ प्राय मोटर चढेर धेरै टाढा जानुहुन्थेन । बरु पैदलै झिसमिसेमै हिँडेर रिडी, केरुङ्डा, दिहिङसम्म पुग्नुहुन्थ्यो आफन्तकोमा । घरमा हुँदा पनि हरेक दिन तलमाथि भाई-छोराको घरमा पुग्ने, गाउँमा हुने सबैजसो खबरहरु थाहा पाउने, घ्यु हालेर पकाएको भात मज्जाले खाने र काममा खटिने उहाँको दैनिक भने बडो गजवको हुन्थ्यो । ९१ वर्षसम्म बाँच्दा जेठाबाले लाउने-खाने सबै आफैले जोहो गर्नुभयो । सायद, वृद्दभत्ता नभए उहाँहरु जस्ता बुढाबुढीको जीवन र खर्चपानीको जोहो गर्न निकै कठिन हुन्थ्यो होला । पहुँच हुने कर्मचारी र जनप्रतिनिधिले बेइमानी नगर्ने हो भने सामाजिक सुरक्षा भत्ता अर्थात वृद्द भत्ता वृद्दवृद्दाका लागि बरदान भएको छ ।
सुख र ऐश्वर्यका अवसर कहिल्यै नपाए पनि आफ्नो कर्मप्रति जेठा बा सधैं समर्पित रहनुभयो। विक्रम संवत् १९९१ साल माघ १४ गते एक साधारण किसान परिवारमा जन्मनु भएका जेठा बाको ९१ वर्षको जीवनयात्रा संघर्ष, मेहनत र सादगीमै बित्यो । पाँच दाजुभाई र आठ दिदीबैनी । गाउँमा विद्यालय जाने अवसर हुने कुरै भएन । सानै उमेरदेखि खेतबारीको काम र गाईवस्तुको हेरचाह । अनि १० वर्ष नपुग्दै बिहे । अलिकति लाजकै शब्दमा हामीलाई सुनाउनुहुन्थ्यो- ‘दुलाहा-दुलही बोल्ने त कुरै हुन्थेन । बरु घाँस काट्न जाँदा हसिँया र नाम्लो रोज्न तानातान हुन्थ्यो ।’ जब किशोरावस्थामा पुग्नुभयो, उहाँले परिवारको सम्पूर्ण जिम्मेवारी बोक्नुभयो। खेतीपाती, मेलापात र बेलुकी थकित शरीर लिएर घर फर्किने दिनचर्या उहाँको जीवनशैली बन्यो। बर्षौंदेखि दिनरात मेहनत गरेर पनि सुखको अनुभूति कहिल्यै गर्न नसक्ने उहाँको जीवन निरन्तर संघर्षको कथा बन्यो।
उमेर ढल्दै गयो, तर उहाँको काम गर्ने जोश कहिल्यै घटेन । आफ्नो जीवनशैली परिवर्तन पनि गर्नुभएन। जीवनको अन्तिम क्षणसम्म पनि उहाँ खेतबारीमै खटिनुभयो। तर भाग्यले कहिल्यै भौतिक सुखको अनुभव गर्न दिएन । अन्तिम सास फेर्नुभन्दा ठिक एकसाता अघि ड्रमको पानी पाइपले तानेर तरकारीमा लगाउन खोज्दा ह्वात्तै मुखभित्र पानी पस्यो । त्यसपछि निरन्तर खोकी र छातीको दुखाइसँगै २०८१ साल फागुन ५ गते उहाँ यो संसारबाट बिदा हुनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.