बुटवल, चैत २६ । विद्युतीय सुरक्षा दिवसको अवसरमा बुटवलमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजना तथा बुटवल वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रको सहकार्यमा मंगलबार प्रभातफेरि निकालिएको हो । विद्युत् सुरक्षासम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित कालिकानगरस्थित लुम्बिनी प्रादेशिक कार्यालयबाट सुरु भएको ¥याली तिनकुने, मिलनचोक, राजमार्ग चौराहा हुँदै पुनः प्रादेशिक कार्यालयमा पुगेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैल्याउन तथा सुरक्षित विद्युत् सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा बढी भन्दा बढी सचेतना र जागरुकता सञ्चार गरी विद्युत् दुर्घटनामा कमी ल्याउने उद्देश्यले हरेक वर्ष चैत २६ मा विद्युतिय सुरक्षा दिवस मनाइँदै आएको बताए । नेपालमा विशेष गरी पानी तान्ने मोटर चलाउँदा, रखमा चढेर घाँस काट्दा, विद्युत्का कर्मचारीहरुले सुरक्षा उपकरणको प्रयोग नगरी काम गर्न खोज्दा धेरैजसो विद्युतीय दुर्घटना हुने गरेको बताए । उपलब्ध भएका सुरक्षा उपकरण अनिवार्य प्रयोग गर्न आग्रह गर्दै उनले विद्युत्को पोल, तार वरीपरी भएका रुख तथा हाँगा काटेर सुरक्षित बनाउन आग्रह गरे ।
यस्तै प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख रामप्रसाद ज्ञवालीले सानो लापरबाहीले ठुलो दुर्घटना हुने गरेको बताए । घर तथा उद्योगमा अर्थिङसहितको गुणस्तरीय र व्यवस्थीत वायरिङ गर्न उनले आग्रह गरे । घरमा विद्युत् लाइनमा समस्या आउँदा आफैँ मर्मत गर्न खोज्दा धेरै दुर्घटना हुने बताउँदै उनले विद्युत्को पोल, ट्रास्फर्मर मुनि सकेसम्म नहिँड्न उनले आग्रह गरे । साथै उनले पिक आवरमा बढी विद्युत् खपत हुने उपकरण प्रयोग नगर्न आग्रह गरे । कार्यक्रममा कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष कल्पना थापाले विद्युतीय दुर्घटना हेलचेक्र्याइँका कारण धेरै हुने बताउँदै फिल्डमा खटिने कर्मचारीहरुलाई सुरक्षा सामाग्रीको अनिवार्य प्रयोग गर्न आग्रह गरिन् ।
साथै उनले कर्मचारीहरुसँगै समाज तथा स्तानीयस्तरमा समेत सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको बताइन् । यस्तै कार्यक्रममा प्रशासन प्रमुख भोजराज पोखरेल, बुटवल वितरण केन्दूका प्रमुख कपिलराज पाण्डे,राष्ट्रिय कर्मचारी युनियनका केन्द्रीय सदस्य टंक बश्याललगायतले आआफ्नो भनाइ राखेका थिए ।